विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध भारतको कठिन जित, इतिहास रच्न चुक्यो अफगानिस्तान - Butwal Online

बुटवल, ८ असार । आईसीसी एकदिवसीय विश्वकपमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोली अफगानिस्तानमाथि भारतले ११ रनको संघर्षपूर्ण जित निकालेको छ ।

भारतले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि २१३ रन बनायो ।

यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन मात्र बनाएको थियो ।

भारतको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर मात्र ७ रन हुँदा भरपर्दा ब्याट्सम्यान रोहित शर्माआउट भए । त्यसपछि दबावमा आएको भारतका कुनै पनि ब्याट्सम्यानलाई अफगान बलरहरले खुलेर खेल्न दिएनन् ।

यद्यपि कप्तान विरोट कोहलीले केएल राहुलसँग मिलेर पारी सम्हाल्ने कोसिस गरे । ५७ रनको साझेदारी गरेका राहुल ३० रनमा आउट भए । विजय शंकरले पनि कोहलीलाई राम्रै साथ दिए ।

५८ रनको साझेदारी गरेका उनी २९ रनमा आउट भए । चौथो विकेटका रुपमा कोहली व्यक्तिगत ६७ रनमा आउट भए, जतिबेला भारतको स्कोर १३५ रन थियो । एमएस धोनी र केदार जादवले भारतीय पारी सम्हाल्ने प्रयास गरे । धानी २८ रनमा आउट भए भने जाधव ५२ रनमा आउट भए ।

भारतले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा २१३ रन मात्र  बनाउन सक्यो ।

अफगानिस्तानले मध्यम सुरुवात गरेको थियो । ओपनर हज्रतुल्लाह जाजाईले १० र गुलाबदिन नइवले २७ रन बनाएर आउट भए ।

तेस्रो नम्बरका रहमत शाहले ३६ र हसमतुल्लाह शाहिदीले २१ रन जोडे । अस्घर अफगान ८ रनमै आउट भएपछि छैटौं नम्बरमा आएका नाबीले ५५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए ।

नाजिबुल्लाह जदरान २१ र रशिद खान १४ रन जोडेर आउट भए । भारतका मोहम्मद शामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिए । ४९.३ ओभरमा मोहम्मद नाबीलाई हार्दिक पाण्ड्याको हातबाट क्याचआउट गराएका शामीले त्यसपछिका लगातार दुई बलमा अफ्ताब आलम र मुजिब उर रहमानलाई क्लिन बोल्ड गरे ।

भारतले अफगानिस्तानमाथि ११ रनको जित निकाल्दै जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्यो । जितपछि ९ अंकसहित भारत अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार