विप्लव समुहको नेपाल बन्द : बुटवल लगायत देशभरको जनजिवन प्रभावीत - Butwal Online
विप्लव समुहको नेपाल बन्द : बुटवल लगायत देशभरको जनजिवन प्रभावीत
  • बुटवलका २ ठाउँमा नक्कली बम भेटियो
  • बुटवल, १० असार । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले बुटवल लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

    बन्दकर्ता सडकमा नदेखिए पनि यस क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने उद्योग कल कारखाना,शिक्षण संस्था बन्द छन् ।बुटवलमा फाट्ट फुट्ट रुपमा मोटरसाइकलहरु चले पनि सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् भने मुख्य बजारका पसलहरु बन्द रहेका छन् ।

    काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधबाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् ।

    देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

    कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

    ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको शंकास्पद बस्तु पनि बम नभएको पुष्टि भएको छ । विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो । पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए ।

    प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

    यो पनि पढ्नुहोस 

    बुटवलका २ ठाउँमा नक्कली बम फेला

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार