तुलसीपुर उपमहानगरको न्यायिक समितिमा उजुरीको चाप - Butwal Online

लमही, १० असार : तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा १०४ वटा मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षको हालसम्म उजुरी परेका १०४ मुद्दामध्ये २१ वटाको फछ्र्याैट भइसकेको न्यायिक समितिका संयोजक माया आचार्यले जानकारी दिईन ।

साउनमा नौ, भदौमा तीन, असोजमा ६, कात्तिकमा चार, मङ्सिरमा नौ, पुसमा १०, माघमा पाँच, फागुनमा १२, चैतमा १४, वैशाखमा १३, जेठमा १५ र असारको पहिलो सातासम्म तीन वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ ।

विशेषगरी घरेलु हिंसा, जग्गा रोक्का, माना–चामल, आमा–बाबु अलग भएर छोराछोरीहरु विचल्लीमा परेका जस्ता मुद्दाहरु समितिमा बढी आउने गरेको उनको भनाइ छ । त्यसैगरी लेनदेन, झै–झगडा, ज्येष्ठ नागरिकलाई खान–लाउन नदिएको कुटपिटलगायतका मुद्दा पनि बढी आउने गरेको संयोजक आचार्यले जानकारी दिए ।

उजुरी परे पनि दक्ष कर्मचारीको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको समेत उनको भनाइ छ । “न्यायिक समितिमा थुप्रै उजुरीहरु आउने गरेका छन्”, उनले भने “तर दक्ष कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ ।” संयोजक आचार्यले हाल उपमहानगरका प्रत्येक वडामा मेलमिलापकर्ता सूचीकृत गरेकाले वडामा मिलाउन नसकेका मुद्दाहरु छानेर उपमहानगरपालिकामा पठाउने गरेको बताए ।

यसरी मुद्दाको प्रकृतिलाई हेरेर न्यायिक समितिले पक्ष र विपक्षका सदस्य राखेर मेलमिलाप गराउँदै आएको समेत उनले बताए । हाल न्यायिक समितिमा उजुरी प्रशासनमा एक, हेल्पडेक्समा एक, सचिवालयमा एक र कार्यालय सहयोगी एक गरी चार कर्मचारी कार्यरत रहेको समितिले जनाएको छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार