सिद्धार्थनगर नगरपालिकाद्वारा पाँचौं नगर सभाको अवसरमा ६ जना पत्रकारलाई पुरस्कृत - Butwal Online

भैरहवा, १० असार । सिद्धार्थनगर नगरपालिकाले पाँचौं नगर सभाको अवसर पारेर ६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । मंगलबार भैरहवामा आयोजित नगर सभामा पुरस्कृत गरिएको हो ।

गत वर्षदेखि लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको सहकार्यमा नगरपालिकाले स्थापना गरेकोे पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपुर दैनिकका उपसम्पादक माधव ढुंगाना, रुपन्देही एफएमका स्टेसन म्यानेजर शंकरप्रसाद पाण्डे र एपीवान टेलिभिजनका प्रदेश पाँच व्युरो प्रमुख राधेश्याम विश्वकर्मालाई सम्मान गरिएको हो । उनीहरुलाई प्रतिव्यक्ति नगद १६ हजार ६६६ का दरले प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा नगरपालिकाले स्थापना गरेको सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट पनि तीन जनालाई सम्मान गरिएको छ । विगत तीन वर्षदेखि वितरण हुन नसकेको उक्त पुरस्कार यस वर्ष एकैपटक वितरण गरिएको हो । नगरपालिकाका अनुसार सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार दीपेश पछाईलाई सम्मान गरिएको छ । उनी मेचीकाली दैनिकमा आबद्ध छन् ।

यस्तै २०७४ बाट पत्रकार भगवती पाण्डेलाई सम्मानित गरिएको छ । उनी लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख हुन् । यस्तै, २०७५ बाट पत्रकार दीपक गलामीलाई सम्मान गरिएको छ । उनी रुपन्देही एफएमसँग आबद्ध छन् । तीनै जनालाई नगद ५–५ हजार र प्रमाणपत्रले सम्मान गरिएको हो ।

महासंघ सहसचिव कमल रायमाझीको संयोजकत्व, सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्य र महासंघ जिल्ला शाखाका सदस्य संजय सौगात रहेको मूल्यांकन समितीले गरेको छनौटमा आधारमा उनीहरुलाई सम्मान गरिएको हो । ६ जनै पत्रकारलाई नगर प्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले र प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले पुरस्कार प्रदान गरे ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार