घोराहीमा ५३ जनामा सिकलसेलको लक्षण, बिरामीको उपचार खर्च सबै उपमहानगरले गर्ने - Butwal Online

घोराही, १८ असार । घोराही उपमहानगरका तीन स्थानमा गरिएको रगत परीक्षणबाट ५३ जना व्यक्तिमा सिकलसेलको लक्षण देखिएको छ । यही असार १२, १५ र १६ गते वडा नं– २ को रामपुर, वडा नं– ७ को सौडियार र वडा नं– १० को नारायणपुरमा ३४३ जनामा गरिएको परीक्षणमा ५३ जनामा सिकलसेल एनिमियाको लक्षण देखिएको हो ।


रामपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५५ जनाको रगत जाँच गर्दा ८ महिला र चार पुरुष गरी १२ जनामा प्रारम्भिक लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । त्यस्तै स्वास्थ्यचौकी सौडियारमा १३१ जनाको रगत परीक्षण गर्दा १४ महिला र एक पुरुषमा सिकलसेलको लक्षण देखिएको छ ।

वडा नं– १० को स्वास्थ्यचौकी नारायणपुरमा १५७ जनाको रगत जाँच गर्दा १९ महिला र सात पुरुष गरी २६ मा सिकलसेलको लक्षण देखिएको संयोजक घर्तीको भनाइ छ ।

सिकलसेलको लक्षण पुरुष भन्दा धेरै महिलामा देखिएको छ । महिलाको सङ्ख्या ४१ र पुरुषको सङ्ख्या १२ रहेको छ । त्यसमा पनि २० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिमा सिकलसेलको लक्षण देखापरेको छ ।

घोराही उपमहानगर स्वास्थ्य शाखाले प्रारम्भिक जाँच गरिएको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा ‘इलेक्ट्रो प्रोसेस’ जाँचका लागि सिफारीश गरिने संयोजक घर्तीले जानकारी दिए । बिरामीको उपचार खर्च सबै उपमहानगरले व्यहोर्ने भएको छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार