विश्वकै लोपोन्मुख ‘कोलवृक्ष’को संरक्षण र प्रवद्र्धनमा स्थानीय तह - Butwal Online

परासी, २४ असार : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले विश्वकै लोपोन्मुख मानिएको बौद्धकालीन वनस्पति ‘कोलवृक्ष’ को संरक्षण गर्दै पर्यटन विकास गर्ने योजना अघि सारेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

गाउँपालिकाकै धरोहरको रुपमा रहेको जावा क्षेत्रलाई पर्यटकीयस्थल बनाउने गाउँपालिकाले घोषणा गरिसकेको छ । यहाँको पर्यटन विकास हुन सके आफूहरुको आयआर्जन वृद्धि हुने, रोजगारीको अवसर सिर्जना हुने तथा यस क्षेत्रको बृहत्तर विकास हुने भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । सरावल–२ स्थित जावा गाउँभरि नै कोलवृक्ष पाइन्छ ।

जावा गाउँमा मात्रै पाइने कोलवृक्षलाई संरक्षण गरी उक्त क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीतिका साथ गाउँपालिकाले यसलाई उच्च प्राथमिकताका साथ बजेटसमेत विनियोजन गरेको छ । प्राचीन कोलीय गणराज्यको इतिहाससँग जोडिएको कोलवृक्ष वनस्पतिबारे अनुसन्धान जारी छ । जापानलगायत देशका अनुसन्धानकर्ताले यसको अनुसन्धान गर्दै आएका छन् । यस वनस्पतिको वैज्ञानिक नाम, प्रजाति र त्यसको गुणबारे अनुसन्धानकै क्रममा रहेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

स्थानीयवासीले आकोल भनेर चिन्ने यस वनस्पतिको उत्पत्ति पनि नेपालमै भएको दाबी गरिएको छ । कोलवृक्ष कुष्ठरोग, छालासम्बन्धी रोग, मधुमेह, रक्तचापजस्ता रोगको उपचारमा प्रयोग गरिएको कथन पाइन्छ । प्राचीनकालमा राम भन्ने राजालाई कुष्ठरोग लागेपछि यहाँको कोलवृक्ष मुनि विश्राम गरेर त्यही वृक्षको पातको लेप शरीरभरि लगाउने र यसको फल खाने गरेर कुष्ठरोग निको भएको किम्वदन्ती छ । यसै वृक्षको नामबाट प्राचीन रामग्राम क्षेत्रलाई कोलिय गणराज्यको नामबाट चिनिन्छ ।

गाउँपालिकाले कोलवृक्ष संरक्षण गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्न आर्थिक वर्ष २०७६÷०७७ मा रु ५० लाख बजेट विनियोजन गरेको छ । “कोलवृक्ष संरक्षणका लागि यसै वर्ष हामीले गुरुयोजना बनाएर पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) बनाउँदै छौँ”, अध्यक्ष चौधरीले भने “बौद्धचर्या ग्रन्थमा पनि यो वनस्पतिको महत्व उल्लेख गरिएको छ, बुद्धकालमै कुष्ठ रोग निवारणमा प्रयोग भएको यो वनस्पति विश्वकै लोपोन्मुख रुख हो, यो राष्ट्रकै गहना भएकाले हामीले बुद्ध सर्किटसँग पनि जोडेर यसको एकीकृत पर्यटन विकासका लागि पहल गरिरहेका छौँ ।”

जावामा कोलवृक्ष बगँैचाको रुपमा रहेको छ भने गाउँको चारैतिर पनि यो वनस्पति देख्न सकिन्छ । गाउँभरि नै यसको रुख पाइने भएकाले गाउँपालिकाले कोलवृक्षको गणना गर्ने तयारी पनि गरेको छ । यो रुख रोप्नु नपर्ने र आफैँ उत्पत्ति हुने गरेको स्थानीयवासी बताउँछन् । यहाँ प्राचीनकालीन इँटा पनि भेटिएका छन् । कोलवृक्षसँगै जावा क्षेत्रमा रहेको ऐतिहासिक ताल, कोटइमाईको थान, बुद्धकालीन तीनकुने इनारलाई समावेश गरी बृहत पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको अध्यक्ष चौधरीले बताए ।

हाँ रहेको बुद्धसरोवर तालको पनि आफ्नै विशेषता छ । तालमा साइबेरियनलगायतका विश्वका विभिन्न स्थानबाट आएका लोपोन्मुख चरा अवालेकन गर्न सकिन्छ । करीब पाँच बिघामा फैलिएको यो ताल क्षेत्र पनि रमणीय छ । कहिल्यै पानी नसुकेको यो तालमा विगतमा सुनको डुङ्गामा भाँडाकुँडा आउने गरेको र गाउँघरमा हुने विवाहलगायतका उत्सवमा प्रयोग गर्ने गरिएको किम्वदन्ती रहेको स्थानीय मीननारायण चौधरीले बताए ।

“भाँडाकुँडा आवश्यक पर्दा देवीको पूजापाठ गरेपछि डुङ्गामा भाँडाकुँडा आउने गरेको र काम सकिएपछि फेरि बुझाउने गरिएकोमा एक पटक उक्त भाँडा नबुझाएपछि डुङ्गा निस्कन छोडेको किम्वदन्ती रहेको छ”,  उनले भने । तालको नजिकै करिव तीन बिघा क्षेत्रमा कोलवृक्ष बगैँचा, थारूको कुलदेवता कोटइमाई थान रहेको छ भने सोही स्थानमा अहिले ठूलो बुद्धको मूर्ति स्थापना गर्न लागिएको स्थानीयवासी पवनकुमार चौधरीले बताए ।

उनले भने “यस क्षेत्रको संरक्षणका लागि तारबार गर्न आवश्यक छ, यहाँसम्म सहजै पुग्नका लागि बाटो निर्माणको थालनी भएको छ, यसलाई विस्तार गर्नुपर्ने अवस्था छ, गाउँपालिकाले यहाँ लगानी गरेर पर्यटकीयस्थल बनाउन लागेको सुन्दा हामी निकै खुशी भएका छौँ ।” गाउँपालिकाले यस क्षेत्रको संरक्षणका लागि तारबार गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन होम स्टे (घरवास) सञ्चालन गर्ने, सङ्ग्रहालय स्थापना गर्ने, तालको सौन्दर्यीकरण गर्ने, सुन्दर उद्यान बनाउने, वनभोजका लागि छुट्टै स्थल बनाउने, सडकको सहज व्यवस्था गर्ने, ठाउँठाउँमा होर्डिङ बोर्ड राख्ने तथा प्रवेशद्वार निर्माणजस्ता योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।

चालू आर्थिक वर्ष २०७५÷०७६ मा पनि बुद्धको मूर्ति स्थापनाका लागि रु पाँच लाख र सडक ग्राभेलका लागि रु तीन लाख विनियोजन गरी काम गरिएको पनि उनले बताए । ठूलो क्षेत्रफल र रमणीयस्थलको रुपमा रहेको यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउन सकिए विश्वकै लागि यो ठाउँ नमूना पर्यटकीय गन्तव्य हुनुका साथै खोज अनुसन्धानकर्ताका लागि पनि गन्तव्य बन्न सक्ने स्थानीयवासी बताउँछन् । जावा क्षेत्रमा मात्रै पाइने कोलवृक्षको व्यापक प्रचारप्रसार गरी यसको महत्व बुझाउन आवश्यक रहेको स्थानीयवासीको सुझाव छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार