Trending
  • असारे बिकासको चटारो : ठेकेदारलाई भ्याइनभ्याई, अरबौँ बजेटको सत्यनास - Butwal Online

    रमेश पराजुली 
    बुटवल, २५ असार । नेपालको सन्दर्भमा असार मौसमको हिसाबले अत्यन्तै प्रतिकुल महिना हो । कृषि प्रधान देश नेपालका धेरै मानिसहरू कृषि कर्ममै व्यस्त हुने गर्दछन् । चर्को गर्मी तथा मनसुनको सिजन रहने भएकोले यस महिनामा दैनिक जीवन यापनमा नै निकै कठिनाइ उत्पन्न हुने गर्दछ । यतिबेला नेपाली किसानहरू आ–आफ्नो खेतबारीमा कुटो कोदालो गरेर मानो रोपी मुरी उब्जाउने काममा व्यस्त छन् । कृषकहरूको लागि वर्ष भरीको लागी खाद्यान्न लगाउने समय हो असार महिना ।



    तर यतिबेला देशभर विभिन्न मन्त्रालय अन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतारहतारमा भैरहेका छन् । यही महिनामा देशमा विकासको मूल फुटिरेहेको भान पर्नेगरी यत्रतत्र विकास गतिविधिहरु सञ्चालन भइरहेको देखिन्छ । दिनहुँजसो झरी पर्ने यो याममा सडक पिच गर्ने, ढल एवं नाली निर्माण गर्ने जस्ता मौसम प्रतिकूल कामहरु भइरहेका देखिन्छन् । विकास कार्यले अहोरात्र तीव्रता पाउने गरेको यो महिनामा रातारात कच्ची सडक पक्कीमा परिणत हुने, सडकहरुका छेउछाउ सडकपेटी बन्ने, ढल हालिने, पर्खाल ठडिनेदेखि लिएर घर तथा भवनहरुको ढलान हुने जस्ता दृष्यहरु हरेक वर्ष देखापर्ने गर्दछन् । असार मसान्त नजिकिएसँगै विकास प्रशासन सम्बद्ध कर्मचारीहरुको कार्यबोझ मात्रै बढ्दैन, भौतिक र वित्तिय प्रगतिको लक्ष्य हासिल गर्नुपर्ने ‘टेन्सन’ पनि बढ्ने गर्छ ।

    आर्थिक वर्ष सकिनै लाग्दा विगतमा जस्तै हतारहतारमा काम गरेर बजेट सिध्याउने खेल भइरहेको छ । बजेट फ्रिज हुनबाट जोगाउन यो समयमा ठेकेदारहरु हतारमा काम गरिरहेका छन । यस्तो काम न दिगो हुन्छ न त बजेटको सही सदुपयोग। असारे विकास अनियमितता गर्नेहरूका लागि एउटा सजिलो माध्यम बनेको छ । यो वर्ष पनि करोडौ रुपैयाँ वर्षाको भेलसंगै बगेर जाने निश्चित भएको छ । देशभर विभिन्न मन्त्रालय अन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ। यही समयमा ग्रामीण क्षेत्रमा समेत धमाधम डोजर र स्काभेटरले सडक खन्न थालेका छन् भने धेरै ठाउँमा भत्किएका र कच्ची सडकहरूको हिलैमाथी भएपनि धमाधम पिच हुँदैछ ।

    असार महिनामा जस्तै रात दिन नभनी अरू महिनामा पनि बिकास निर्माणका कामहरू गर्ने हो भने देशको बिकास हुन धेरै समय लाग्दैन । तर अरू समयमा अनेक बाहाना बनाएर काम नगर्ने आर्थिक वर्षको अन्त्यमा आएर जथाभावी बजेट खर्च गरी खातापाता मिलाएर आफ्नै भुडी भर्ने प्रवृत्ति विकास हुन नसक्नुको मुख्य कारण हो । यो प्रवृत्तिलाई रोक्न नसक्ने हो भने जतिसुकै बजेट छुट्टाएपनी कुनै अर्थ रहँदैन । वर्षभरी काम नगर्ने र असारमा बजेट सिध्याउन हतारहतारमा काम गरिने प्रवृत्तिले गुणस्तरहीन काम र चरम अनियमतता हुने हुँदा यतिबेला बनेका संरचनाहरु सोचेजती टिकाउ र गुणस्तरीए हुन् सक्दैनन यसमा कसैको २ मत छैन ।

    वर्षभरमा सक्नुपर्ने विकास आयोजना आर्थिक वर्षको अन्तिम समयमा आएर हतारमा सक्ने र फाइदा लुट्ने प्रवृत्तिलाई प्रशासन क्षेत्रमा असारे विकासले परिचित छ । वर्षौंदेखिको यो प्रवृत्ति यसपटक पनि दोहोरिने अवस्था देखिएपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता विकास निर्माण कार्य राम्ररी चेक गर्न सरोकारवाला निकायलाई निर्देशन दिए पनि त्यो निर्देशन प्रभावकारी बन्न सकेको छैन । आर्थिक वर्ष सकिनै लाग्दा कतै मकै बारीमा डोजर चलेका छन् त कतै धान रोपेको खेतमा । यसबाट सजिलै बुज्न सकिन्छ कि यो सबै बजेट कुम्ल्याउने नाटक मात्रै हो ।

    एकचोटी यो तथ्यांक हेर्नुहोस

    सरकारी तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ सय ३० दिन (असार १) सम्म चालू खर्च दैनिक औसतमा एक अर्ब ८४ करोड रुपैयाँका दरले भएको थियो। तर असार १५ पछिको सात दिनमा भने यो खर्च दैनिक औसतमा सबा ३ अर्ब रुपैयाँका दरले भइरहेको छ । सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आर्थिक वर्षको असार १ सम्म ६ खर्ब १० अर्ब रुपैयाँ चालू बजेट खर्च भएको छ । असार १ देखि १५ सम्म खर्च बढेर ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । १५ दिनमा मात्रै ३९ अर्ब रुपैयाँ खर्च भएको छ । यो औसतमा दैनिक २ अर्ब ६० करोड हो ।

    आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ वास्तविक पुँजीगत खर्च भएकोमा असार महिनामा मात्रै एक तिहाइ हाराहारीमा रकम खर्च भएको देखिन्छ । यसैगरी आर्थिक वर्ष २०७२/७३ मा सरकारले पुँजीगत खर्चबापत दुई खर्ब आठ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेकोमा उक्त आर्थिक वर्षमा खर्च भएको पुँजीगत बजेटमध्ये असार महिनामा मात्रै ३७ प्रतिशत रकम खर्च भएको देखिन्छ । यसैगरी, आव २०७१/७२ मा विनियोजित पुँजीगत खर्चमध्ये एक खर्ब १६ अर्ब ७५ करोड वास्तविक खर्च भएकोमा यसको ३२ प्रतिशत अर्थात् २८ अर्ब ७४ करोड २३ लाख रकम असार महिनामा मात्र खर्च भएको तथ्यांक छ ।

    आर्थिक वर्ष २०७०/७१ को अवस्था पनि योभन्दा धेरै पृथक् छैन । उक्त आवमा ६६ अर्ब ६९ करोड ४७ लाख रुपैयाँ विकास कार्यमा खर्च भएकोमा यो रकमको ३७ प्रतिशत हिस्सा असार महिनामै खर्च भएको देखिन्छ । यसैगरी आव २०६९/७० मा भएको ५४ अर्ब ५९ करोड ८४ लाख पुँजीगत खर्चमध्ये ३७ प्रतिशत हिस्सा अर्थात् २० अर्ब ३५ करोड ३१ लाख रुपैयाँ सरकारी निकायहरुले असार महिनामा खर्चिएको तथ्यांक छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक हेर्ने हो भने पनि यसवर्ष विनियोजित पुँजीगत खर्च तीन खर्ब ३५ अर्ब १७ करोडमध्ये ४८ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

    धेरै पहिलेदेखी चलिआएको यो विकासको गति कतिन्जेलसम्म यसरीनै चल्ने हो न त यसको कुनै अनुमान गर्न सक्ने अवस्था छ, न त कुनै आंकलन गर्न नै। वर्षौँसम्म सम्पन्न गर्न नसकेका निर्माणका कामहरू आर्थिक वर्षको अन्त्यमा हतारहतारमा सम्पन्न गरिन्छ । राजनीतिक प्रतिसोध र पहुँचवालहरूकै भरमा यहाँ विकासका नाममा चरम लापर्वाही (भष्टचार) भैरहेको अवस्था छ । गुणस्तरहीन सामाग्री अनि हतारमा गरिने निर्माणका कामहरूले दिगो रूपमा विकासलाई स्थायित्व दिन सकेको अवस्था छैन। वर्ष दिनसम्म काम नगरी बस्ने र आर्थिक वर्षको अन्तिममा आएर हतारमा बजेट सक्ने नियतवश दशकौँदेखि यही परम्परा बसेकाे छ । बिगतका वर्षहरूमा पनि बिरोध नगरिएका होईनन् । आवाज नउठेका होईनन् केही समय समाचार बन्छ केहि समय पछि ती समाचार ओझेल पर्छन्। त्यतातिर कसैको ध्यान जादैन यो दु:खको कुरा हो ।

    यो स्थितिमा यस आर्थिक वर्षबाटै आर्थिक वर्षको अन्तिम महिनामा भारी मात्रामा खर्च गरी असारे विकासको प्रतिफलविहीन लहर चलाउने प्रवृत्तिको अन्त्य गर्न सरकार र सरोकारवालाहरु प्रतिबद्ध बन्नैपर्छ । राजनैतिक नेतृत्व, कर्मचारीतन्त्र त्यसमा पनि मुलतः विकास प्रशासन, पुँजीगत खर्चसँग सरोकार राख्ने निर्माण व्यवसायीलगायतका सबै सरोकारवालाहरुको मानसिकता र प्रवृत्तिमा परिवर्तन गर्न सक्ने हो भने यो गलत परम्परा र नियतिको सहज अन्त्य गर्न सकिन्छ । यसरी प्रतेक वर्ष अरबौं रुपैयाँको नाश भैरहँदा यससँग सम्बन्धित पक्ष अलि चनाखो र गम्भीर बन्नुपर्ने देखिन्छ । तर तेसरी चासो दिएर अनुगमन गरेको पहिदैन ।

    यसरि आर्थिक वर्षको अन्त्यमा आएर गरिने विकास निर्माणका काममा स्थानीय जनताहरुले पनि चासो दिएर हेर्नुपर्ने देखिन्छ । निर्माण सामग्री कस्तो छ कसरि काम भएको छ ? आदी बिषयमा खबरदारी गर्न सके केहि हदसम्म भएपनि टिकाउ र राम्रो हुनेछ । कामको मूल्याङ्कन तथा अनुगमन गर्दे समयमै काम गर्न र सम्पन्न गर्न सरकारले किन जवाफदेही भूमिका निभाउन सक्दैन ? सरकार सधै यसरी नै असारमै बजेट सकाउने ध्याउन्नमा लागेर अर्बौँ बजेट सकाउनु भन्दा समयमै काम संचालन, अनुगमन, तथा सम्पन्न गर्ने कार्यमा कटिबद्ध भएर लाग्नु जरूरी छ । देखावटी रुपमा काम गरि अरबौँ बजेट कुम्ल्याउने खेल रोक्नको लागी तपाई हामी सबै मिलेर आजैदेखी लागौं । अन्यथा भोलिका दिनमा ठुलो पछुतो हुनेछ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार