अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो, यात्रामा सास्ती (पछिल्लो अपडेट) - Butwal Online

गलकोट, २७ असार : मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ ।

फाइल तस्बिर

बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढीका कारण लोकमार्गमा क्षति पु¥याउँदा आउजाउमा निकै सास्ती खेप्नुपरेको यात्रुले गुनासो गरेका छन् । लोकमार्गको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे ताल नजिकै लोकमार्गमा सबैभन्दा ठूलो जोखिम रहेको छ ।

गत वर्षको भदौ २९ गते गएको सुक्खा पहिरो खस्दा बडिगाड खोला थुनिएर एक किलोमिटर ताल बनेको तुरतुरे ताल नजिकै लोकमार्गको करीब ५० मिटर सडक भासिएर चिराचिरा परेको छ । वैकल्पिक बाटोको व्यवस्था नहुँदा निकै जोखिम मोलेर यातायातका साधन चलाउँदै आएको चालक भरत गौतमले बताए ।

गौतमका अनुसार बागलुङ बजारदेखि झण्डै तीन घण्टामा बुर्तिवाङ पुग्न सकिनेमा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताए । “नाली बिनाको सडकले जम्मा गरेको भल सोझै लोकमार्ग हुँदै आउँछ”, श्रेष्ठले भने “सामान्य पानी जाने गरी लोकमार्गले सडकमुनि बनाएको संरचना पुरिएर लोकमार्गमा लेदो बग्छ ।” लोकमार्ग माथि खनेको सडकको लेदो भ्वाङ खोलाले बगाउँदा पकट–पटक लोकमार्ग अवरुद्ध हुँदै आएको छ भने तीन घरमा क्षति पु¥याएको छ ।

वर्षायाममा लोकमार्ग हुँदै बग्ने दर्जनौँ खोलाको उचित व्यवस्थापन नहुँदा लोकमार्ग नै जोखिममा परेको हो । भ्वाङ खोलाले ल्याएको बाढीले बडिगाड गाउँपालिका–६ खाल बजार नजिकैका तीन वटा घरमा क्षति पु¥याएकोे छ भने दर्जनाँै पटक लोकमार्ग अवरुद्ध भएको छ । जेठ २८ गत बाढीका कारण क्षति पु¥याएको घर असार २३ गते आएको बाढीले थप क्षति पु¥याउँदा विस्थापित हुने अवस्थामा आएको पीडित गोठे सार्कीले बताए ।

भ्वाङ् खोलो मात्र होइन, मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि बुर्तिवाङसम्म लोकमार्ग माथि खनिएका सडकको भलसँगै आएको लेदोले लोकमार्ग जोखिममा परेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।

राजमार्ग खुलाउने स्थानीय तहको काम नभए पनि यात्रुको सहजताका लागि पटक–पटक गाउँपालिकाको खर्चमा सडक खुलाउँदै आएको पाइजाको भनाइ छ । बागलुङ नगरपालिका–३ बोक्से, दुदिलाभाटी, तुरतुरे ताल वरपर, भ्वाङ खोला, रिघाको मनेवा पाटा, आँगा खेतलगायतका दर्जनाँै स्थानमा पहिरो जाँदा लोकमार्ग असुरक्षित भएको खाल बजारकी सुष्मा केसीले बताए । वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनाँै पटक अवरुद्ध भइसकेको छ ।

बागलुङ बजारदेखि घोडा बाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेको सन्र्दभमा पक्की सडक भएको घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाने हुँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।

बागलुङ बजारदेखि बुर्तिवाङ सडकखण्डमा सहजरुपमा आउजाउ गर्न लोकमार्ग आयोजनासँग समन्वय गरेर अगाडि बढेको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । “विपद् व्यवस्थापनमा हामी संवेदनशील छौँ”, प्रजिअ क्षेत्रीले भने, “जोखिम भए पनि लामो समयसम्म सडक अवरुद्ध भएको छैन ।” दीर्घकालीन जोखिम न्यूनीकरणका लागि आयोजनासँग छलफल भइरहेको प्रजिअ क्षेत्रीको भनाइ छ ।

पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीेको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो ।

यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ । हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो मौसममा सुधार भए डोरबारबाट पहिरो हटाई बागझोरामा यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिए ।

निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । यससँगै माडीका अन्य खोलाहरुमा पनि बाढी आएको छ । जसका कारण आवतजावत गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् ।

खोला बढेर आवागमन अवरुद्ध भएसँगै स्थानीय प्रभावित भएका छन् । खोलाहरु बढेपछि पानी खेतमा पस्न थालेको छ । जसले लगाइएको धानबाली प्रभावित बनाउने त्रास माडीवासीमा रहेको छ । निरन्तर वर्षासँगै यहाँका ठूला दुई नदी नारायणी र राप्तीको बहाव समेत बढेको छ ।

तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुने सो सडक अवरुद्ध बनेपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैदेखि गाउँपालिकाले डोजर सञ्चालन गरी पहिरो हटाउन शुरु गरेको अध्यक्ष ढकालले बताए ।

वर्षाका कारण गुल्मीका एक दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउने सेवाग्राहीलाई समेत समस्या भएको छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार