अपराध रोक्न नागरिकको सहकार्य जरुरी’ - Butwal Online
अपराध रोक्न नागरिकको सहकार्य जरुरी’

बुटवल, २७ असार । सामाजिक संघसंस्थाहरुको सहकार्यमा मात्र सामाजिक सुरक्षालाई व्यवस्थित तथा मजबुत बनाउन सकिने प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई बताएका छन् ।


संघसंस्थाहरुको रचनात्मक ऐक्यबद्धताले मात्र प्रहरीले अगाडि सारेको नागरिक–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्ने बताउँदै उनले यो कार्यमा हातेमालो गर्न सबै संस्थाहरुलाई गरेका छन् ।

समुन्नत समाजका लागि सामाजिक हिंसा, चोरी तथा विभिन्न अपराधलाई रोक्ने प्रहरीको मुख्य मिसन भएपनि नागरिकको सहकार्यबिना असम्भव रहेको उपरीक्षक भट्टराईले बताए ।

अपराधबिहीन समाजको योजना सबै सामाजिक संघसंस्थाले बनाउनुपर्ने र त्यसको नेतृत्व प्रहरीलाई दिनुपर्ने बताउँदै उनले प्रहरीभित्र रहेका नकारात्मक विषयलाई पनि उठान गरी समयमै सच्चाउन दवाव दिन आग्रह गरेका थिए ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पछिल्लो समय चेक बाउन्सका मुद्दाहरु दिनहुँ आउन थालेकाले यसमा ध्यान दिन व्यवसायिक संस्थाहरुलाई आग्रह गरेका छन् । भट्टराईले चेक बाउन्सको मुद्दा सिधै फौजदारीमा जाने भएकाले समयमै सचेत रहन र यस्ता विषयमा सचेत रहन सबैलाई आग्रह गरेका थिए ।

क्लबका अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षता सचिव मनोज भुसालको संचालनमा भएको कार्यक्रममा एजी राजेन्द्र ढकाल, पूर्व अध्यक्षहरु एमबी विश्वकर्मा, विमलराज भट्टराई, आगामी वर्षका अध्यक्ष जबिन कक्षपति तथा रोटरियनहरु शिव ज्ञवाली, हरि खरेललगायतले सरकारले अघि सारेका सुरक्षासंयन्त्र र त्यसको कार्यान्वयनका विषयमा बोलेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार