Trending
  • जङ्गली च्याउ खाँदा एकै गाउँका १२ जना बिरामी - Butwal Online

    रुकुम (पश्चिम), २९ असार : जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् ।



    च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहेका छन् । त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामी सबैको मुसीकोट नगरपालिका–१ खलङ्गाको साझा अस्पतालमा उपचार भइरहेको छ ।

    अहिले बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर हिजो साँझ खाएका उनीहरु लगत्तै बिरामी परेका थिए । समयमै स्वास्थ्य संस्थामा ल्याएका कारण उनीहरुलाई केही हुन नपाएको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ । यसैबीच प्रहरीले जङ्गली च्याउ नखान आग्रह गरेको छ ।

    जङ्गली च्याउ विषालु हुने र त्यसको सेवनबाट ज्यानै जाने भएकाले जङ्गलबाट ल्याएको च्याउ नखान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले सबैलाई आग्रह गरे । सधैँ खाइरहेको र चिनेको च्याउसमेत विभिन्न कारणले विषालु हुनसक्ने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् ।

    जङ्गलमा पाइने विभिन्न प्रकारका च्याउ तरकारीको रुपमा खाने गरिन्छ । च्याउ खाँदा सात बिरामी जाजरकोट– जङ्गलबाट ल्याएको च्याउ खाँदा जाजरकोटमा सात बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–१ सिल्पाचौर घर भई सदरमुकाम खलङगामा डेरा गरी बस्दै आएका ३८ वर्षीय शान्त बुढा, ३५ वर्षीय रत्न बुढा, २३ वर्षीय ओमप्रकाश बुढा बिरामी परेका छन् ।

    यस्तै २६ वर्षीय डम्बर पुन, २२ वर्षीया शान्ति पुन, २३ वर्षीय टकबहादुर पुन र ४७ वर्षीय तीलबहादुर थापा रहेका छन् । उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइरहेको अस्पतालका डा अमिन शाहले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको शाहले बताए ।

    बारेकोट घरबाट खलङ्गा आउँदा फूलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साँझ पकाएर खाएका थिए । खाएलगत्तै उनीहरुमा बान्ता भएको थियो । जङ्गलमा जथाभावी उम्रेको च्याउ नखाना डा शाहले सबैमा अनुरोध गरेका छन ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार