Trending
  • बुद्धमुर्ती तोडफोड भएको प्रति नपा संघको आपत्ती - Butwal Online
    बुद्धमुर्ती तोडफोड भएको प्रति नपा संघको आपत्ती

    बुटवल, साउन २ । तिलोत्तमा नगरपालिका अन्तर्गतको सिद्धार्थ राजमार्गको सिक्सलेन सडकखण्डमा लुम्बिनीको झल्को दिने गरी राखिएका गौतम बुद्धका मूर्तिहरु तोडफोड गरिएको घटनाप्रति नेपाल नगरपालिका संघ प्रदेश पाँचको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।


    नपा संघका पाँच नम्बर प्रदेश संयोजक तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको छ ।



    ‘लुम्बिनी जोड्ने सबै मुख्य सडकका किनार र डिभाइडरहरुमा हरियाली पार्कसहितका बुद्धमुर्ती स्थापना गर्ने र त्यसलाई बुद्धबलीका सबै क्षेत्रमा विस्तार गर्ने अभियान रुपन्देहीका नगरपालिकाहरुको साझा रणनीतिक योजना हो’ विज्ञप्तिमा भनिएको छ ।

    बुद्धबलीको झल्को दिनेगरी हरियालीसहितको बुद्धपार्क निर्माण गर्ने अभियानमा बाधा उत्पन्न गराउन खोज्ने, बुद्धका मुर्ति तोडफोड गर्ने यसप्रकारका गलत कार्यप्रति गम्भीर आपत्ती प्रकट गरिएको छ ।

    कानुन हातमा लिने, अवाञ्छित क्रियाकलापमार्फत समाजमा डरत्रास र आक्रोस पैदा गर्न खोज्ने अराजक व्यक्तिहरुको पहिचान गरि छिटो भन्दा छिटो कानुनी कारवाहीको दायरामा ल्याउन नपा संघले अनुरोध गरेको छ । साथै यस्ता तत्वले यसैका आधारमा सामाजिक र धार्मिक सद्भावसमेत विथोल्ने धृष्टता गर्न सक्नेतर्फ बेलैमा सजग बन्न पनि नपा संघको आग्रह छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार