Trending
  • रामघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै - Butwal Online

    बेझाड, २० साउन । पाल्पाको रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको तटमा रहेको रामघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिन थालिएको छ ।



    कालीगण्डकी बेंँसीकै धार्मिक महत्वका हिसाबले परिचित बनेको रामघाटको पौराणिक महत्वलाई जोगाइराख्न भौतिक पूर्वाधार निर्माणको कार्य अगाडि बढाइएको छ ।

    रामघाट पौराणिककालदेखि नै तीर्थस्थलका रूपमा चिनिँदै आएको पवित्र धार्मिक तीर्थस्थल हो । भगवान् रामचन्द्रले त्रेतायुगमा वनवासका क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनि बोलाई यज्ञ गरेको नजिकै रहेको रामगुफामा बसोबास गरेको तथ्य पाइन्छ ।

    द्वापरयुगमा पाण्डव पनि यही ठाउँमा स्नान गरेको र शुक्ला गण्डकीको पानी कृष्णगण्डकीको रामघाटमा ल्याउन तनहुँको भिमादमा बाँध बाँधेको र शिवजीको वाणको सहयोगबाट जल आउने गरेको तथ्य गङ्गामहात्म्ये, बराहपुराण र शिव पुराणमा उल्लेख छ ।

    पुराणकै तथ्यअनुसार रामघाटमा सदा ३३ कोटी भगवान्ले बास बस्ने पवित्रस्थल भनी उल्लेख गरेको पाइन्छ । त्यसैले रामघाट क्षेत्र पूर्वी पाल्पाकै सबैभन्दा पुरानो पौराणिक कथामा उल्लेख भएको भगवान्को पनि तीर्थस्थल भएको मानिन्छ ।

    पौराणिककालदेखि तीर्थालु आउने, स्नान गर्ने, यज्ञादी गर्ने आदि गर्दै आए पनि २०० वर्ष अगाडि लक्ष्मीनारायणको मन्दिर बनाई गुठी राखिएको विसं १८८९ को सनदबाट थाहा हुन्छ ।

    सामाजिक हितका लागि राखिएको यो गुठी स्थापनाकालदेखि नै दैनिक पूजाआजाको व्यवस्थापन रेग्मी परिवारबाट गरिँदै आएको छ । मन्दिरको अवस्था नाजुक बन्दै गएपछि विसं २०७४ देखि १० वर्षे गुरुयोजना तयार पारिएको छ ।

    गेट, धार्मिक बस्ती, सानो गौशाला, सुन्दर प्रतीक्षालय, त्रिदेव मन्दिर, विवाह मण्डप, योगगृह, ज्येष्ठ नागरिक स्याहार केन्द्र, सभाहल, अतिथि गृह, किरियाघर, पानी ट्याङ्की, वनभोजस्थल, गुरुकूल शिक्षाको शुरुआत, शौचालय र भान्साघर निर्माण गर्ने गुरुयोजना योजना छ ।

    पुरानो लक्ष्मीनारायणको मन्दिर, मन्दिर प्रवेशद्वार, पुरानो पौवा, पानीको फोहरासहित शालिकराम स्तम्भ, पानी ट्याङ्की, दुई कोठे आरसिसी धर्माश्रम, १०८ पीपलका बगैँचा, फलफूलका बगैँचा, नदीको किनारामा रहेको प्रतीक्षालय, मन्दिर परिसरभित्र रहेको पुजारी बस्ने र साधुसन्त बस्ने दुई घर, मन्दिर परिसरको पर्खाल र चौतारी निर्माण गरी संरक्षण गर्न थालिएको लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए ।

    “इतिहाससँग जोडिएको यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय नगरीका रूपमा विकास गर्ने गरी गुरुयोजनाबमोजिम काम भइरहेको छ, अबको १० वर्षभित्रमा रामघाट क्षेत्रमा आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई पनि भित्र्याउने लक्ष्य रहेको छ”, अध्यक्ष रेग्मीले भने ।

    रामघाट क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि पुरातात्विक विभागबाट आर्थिक वर्ष २०७४÷०७५ मा रु १५ लाख र ०७५÷०७६ मा रु २८ लाखबाट लक्ष्मीनारायण मन्दिर निर्माणलगायत अन्य भौतिक संरचनामा खर्च भइसकेको छ ।

    मन्दिर व्यवस्थापन शीर्षकमा ०७६÷०७७ का लागि पुरातात्विक विभागबाटै रु ३० लाख रकम विनियोजन भएको रेग्मीले बताउनुभयो । भगवान् रामकै नामबाट रामपुर रहेकाले यसको विकास भएपछि रामपुर क्षेत्रकै पर्यटन विकासमा ठूलो टेवा पुग्ने वडाध्यक्ष हिमाल मल्लले बताए ।

    “यस क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ, रामघाट रामपुर क्षेत्रकै महत्वपूर्ण तीर्थस्थल हो”, उनले भने । एक÷एक वटा पुजारी र महन्त निवास, शालिकराम स्तम्भ निर्माण, शौचालय, धर्मआश्रम, पानी ट्याङ्की निर्माणको काम सम्पन्न भएको समितिका सदस्य मीनराज रेग्मीले बताए । पुरानो जीर्ण अवस्थामा रहेको लक्ष्मीनारायणको पुरानै शैलीमा मन्दिर निर्माणको काम अन्तिम चरणमा छ ।

    पौराणिक किंवदन्तीअनुसार त्रेतायुगमा भगवान् राम वनबास जाँदा कालिगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुँदा यस घाटको नाम रामघाट हुन गएको हो ।

    विसं १८७० को समयतिर स्थानीय तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको हो ।

    रामपुर नगरपालिका–८ बस्ने स्थानीय कृष्णप्रसाद पौडेलको रु तीन लाख र संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीबाट रु ४२ हजारमा मूल गेट, वडा नं ५ बस्ने टीकाराम मल्लबाट रु एक लाख ५० हजार सहयोगमा मन्दिर प्रवेशद्वारा निर्माण गरिएको छ ।

    भगवान् रामको वनवास जाँदाको कथासँग महत्व गाँसिएकाले पहिले पहिले टाढाटाढाबाट बास बसेर दर्शन तथा अवलोकन गर्नेको घुइँचो हुने गरेको बूढापाका बताउँछन् । यस क्षेत्रलाई रामपुर नगरपालिकाले पनि १० उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत गरेको छ ।

    मन्दिर सञ्चालनका लागि रामपुर नगरपालिका वडा नं ४ र ५ मा करीब दर्ता भएको एक हजार रोपनी र दर्ता नभएको एक हजार १०० रोपनी जग्गा रहेको छ । रामपुर नगरपालिका–४ खोप्टारमा करीब १० रोपनी जग्गा पर्खालले घेरिएको र हाल जीर्ण अवस्थामा रहेको एउटा धर्मशाला पार्टी भवन पनि रहेको छ । यहाँ श्रीकृष्ण जन्माष्टमी, रामनवमी, अक्षयतृतीया, नयाँ वर्षका अवसरमा दर्शनार्थीको घुइँचो लाग्छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार