Trending
  • पार्टी एकता केही हप्तामै टुंगिन्छ : महासचिव पौडेल - Butwal Online
    पार्टी एकता केही हप्तामै टुंगिन्छ : महासचिव पौडेल

    बुटवल, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता केही हप्तामै टुंगिने दाबी गरेका छन्। ‘हामीले एकताका विषयहरू लगभग सम्पन्न गरिसकेका छौँ,’ उनले भने, ‘केही विषयहरू छन्, तिनलाई पनि छोटो समयमै टुंगो लगाउँछौँ।’



    रुपन्देहीको निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. २ ले मंगलबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पौडेलले एकता प्रक्रियाका निर्णयहरू परिपक्व ढंगले भएको भन्दै कार्यकर्ताहरूलाई ढुक्क रहन आग्रह गरे।

    लोकतान्त्रिक मान्यतालाई दीगो रूपमा कार्यान्वयन गर्न र अन्तर्राष्टिय जगतमा नेपालको अस्तित्व स्थापित गर्न पनि नेकपा गठन भएको उनको दाबी छ।

    एकताका मूल विषयहरू सम्पन्न भइसकेको भन्दै नेता पौडेलले एकताका सम्पूर्ण निर्णयहरू सहमतिका आधारमा टुंगो लगाइएको समेत बताए। ‘मतका आधारमा होइन, हाल हामी हरेक निर्णयहरू सहमतिका आधारमा गर्ने गरेका छौँ,’ उनले भने, ‘पार्टी सञ्चालनको विधि, नीति, विचारका बीचमा एक मत छ भने अब कसैले पनि एकता तोड्न सक्दैन्। सहमतिमै टुंगो लगाउँछौँ।’

    एकताको समयमा पार्टी कार्यकर्ता तथा जनतामा असाधारण उत्साह सिर्जना भएको स्मरण गर्दै नेता पौडेलले लामो समयसम्म पनि पार्टी एकताले पूर्णता पाउन नसक्नुले केही निरासता पैदा गरे पनि अवस्था त्यस्तो नरहेको बताए।

    उनले जनताको जनवाद, माओवाद र २१औँ सताब्दीको जनवादका बारेमा खुलेर छलफल गरी अधिवेशनबाट टुंगो लगाइने बताए। उनले पार्टीले प्रकाशन गरेका विधान, प्रतिवेदनहरू अध्ययन गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार