Trending
  • अस्पतालका सटरहरु भाडामा लिनेबाट नभई बिचौलियाबाट सञ्चालन–समिति - Butwal Online

    प्रकाश खनाल
    बुटवल,२७ साउन । प्रदेश नं ५ को प्रदेशसभामा गठीत सामाजिक विकास समितिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु भाडामा लिनेबाट नभई बिचौलियाबाट सञ्चालन भएको निष्कर्ष निकालेको छ ।


    प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमन पश्चात समितिले सो निष्कर्ष निकालेको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा हाल ७३ वटा सटर र सिढिमुनी ४ कोठा रहेका छन् ।



    त्यसैगरी अस्पतालका सबै फाट अस्तव्यस्त रहेको,कर्मचारीहरुमा जिम्मेवारीबोध नभएको,सरसफाइमा कमी रहेको,स्टोरमा औषधि भण्डार लथालिङ्ग रहेको,एउटै बेडमा दुइजना बिरामी समेत राखएको,खर्च भएर नजाने गाडी लगायतका अन्य यन्त्र उपकरण जथाभावी राखिएको र काम लाग्नेलाई मर्मत सम्भार र नलाग्नेलाई कानूनी प्रक्रिया बमोजिम व्यवस्थापन गर्नुपर्ने,म्याद सकिएका र नसकिएका औषधि एकै ठाउमा राखिएको,औषधि स्टक भए पनि सेवाग्राहीले नपाएको,बिरामीहरुले सस्तो र सुलभ तरिकाले औषधि नपाएको समितिको प्रतिवेदनमा जनाइएको छ ।

    समितिले २०७६÷३÷१५ देखि २०७६÷३÷२१ सम्म प्रदेश सरकार मातहत रहेका अस्पतालहरुको अनुगमन गरी अस्पतालहरुको अवस्थाको बारेमा प्रतिवेदन तयार पारेको हो ।

    समितिका सभापति दृगनारायण पाण्डेय नेतृत्वको टोलीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भिम अस्पताल भैरहवा,पाल्पा अस्पताल पाल्पा,गुल्मी अस्पताल गुल्मी,सन्धीखर्क अस्पताल अर्घाखाँची,कपिलवस्तु अस्पताल कपिलवस्तु र पृथ्वीचन्द्र अस्पताल नवलपरासीको अनुगमन गरेको हो ।

    टोलीमा समितिका सदस्यहरु अष्टभुजा पाठक, पुरनमान बज्राचार्य, अजय साही,रिना नेपाल (बिक),दिपा,बिक,कमलादेवी बिक रहेका थिए ।
    त्यसैगरी समितिका सदस्य बाबुराम गौतमको संयोजकत्वको टोलीले दाङ,बाँके,बर्दीया,रुकुम पूर्व,रोल्पा र प्यूठान जिल्लामा रहेका अस्पतालहरुको अनुगमन गरेको थियो ।

    अनुगमनकै क्रममा सम्झौताको म्याद सकिएर पनि लुम्बिनी प्रादेशिक अस्पत्तालमा निजि फार्मेसी सञ्चालन भैरहेको पाइएपछि समितिले तत्काल अस्पतालबाटै फार्फेसी सञ्चालन गर्न निर्देशन दिएपछि केहि दिन अगाडीदेखि अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार