सार्वजनिक विदामा विभाजित स्थानीय तह - Butwal Online
सार्वजनिक विदामा विभाजित स्थानीय तह

मौखिक सल्लाहको भरमा निर्णयबिनै सार्वजनिक विदा

हुमाकान्त पोखरेल
गुल्मी,२९ साउन । सार्वजनिक विदाका बारेमा गुल्मीका स्थानीय तह विभाजित बनेका छन् । बिहिबार हिन्दु नेपालीहरुको जनैपुर्णिमाका अवसरमा जिल्लाका ६ स्थानीय तहले सार्वजनिक विदाको घोषणा गरेका छन् ६ स्थानीय तहले विदा दिएका छैनन् ।



संविधानमा स्थानीय तहलाई विदा दिन सक्ने अधिकार उल्लेख छ । त्यसै अधिकारलाई आधार मान्दै जिल्लाका केहि स्थानीय तहले विहिबारको जनैपुर्णिमाको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका हुन् ।

जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ का स्थानीय तहले सार्वजनिक विदा दिएका छन् भने क्षेत्र नम्बर २ का स्थानीय तहले विदा दिएका छैनन् । जसले स्थानीय तहमा एकरुपता आउन सकेको छैन ।

गुल्मीको कालिगण्डगी, गुल्मीदरबार, चन्द्रकोट, छत्रकोट, सत्यवती र रुरु गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । उनीहरुले आफ्नो स्थानीय तहमा अधिकाशं मानिसहरु हिन्दु धर्ममा आस्था राख्ने भएकोले विदा दिएको जनाएका छन् । चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले संविधानले दिएको अधिकारको उपयोग गर्दै सार्वजनिक विदा दिइएको प्रतिक्रिया दिए ।

‘संविधाले स्थानीय तहलाई दिएको अधिकारलाई आधार मान्दै गाउँकार्यपालिकाको बैठकले जनैपुर्णिमाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।’ उनले भने । सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले स्थानीय तहलाई बर्षमा ६ वटा सार्वजकि विदा दिने अधिकार रहेको बताए ।

‘गाउँपालिकामा धेरै हिन्दु धर्ममा आस्था नागरिक छन्, स्थानीय तहलाई विदा दिने अधिकार पनि छ ।’ उनले भने, ‘त्यसैअनुसार विदा दिएका हौँ ।’

त्यस्तै जिल्लाका रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, इस्मा, मदाने र मालिका गाउँपालिकाले विदा दिएका छैनन् । यससम्बन्धमा मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेश भण्डारीले प्रदेश वा केन्द्र सरकारले कुनै निर्णय नगरेकोले विदा नदिएको बताए । त्यसका साथै उनले विदा दिने अधिकार गाउँकार्यपालिकामा भएपनि मदाने गाउँकार्यपालिकाले कुनै निर्णय नगरेकोले विदा नदिइएको बताए ।

निर्णयबिनै सार्वजनिक विदा, गापा अध्यक्षद्धारा गल्ति स्वीकार

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिबाट सम्बन्धित स्थानीय तहका कार्यपालिका सदस्य तोकिने व्यवस्था छ । अधिकाशं निर्णयहरु गर्ने अधिकार कार्यपालिकामा हुन्छ ।

कुनै पनि स्थानीय तहले कार्यपालिकाको निर्णयबिना कुनै पनि काम गर्न पाइदैन् । तर जिल्लाको कालिगण्डगी गाउँपालिकाले गाउँकार्यपालिकाको निर्णयबिनै सार्वजनिक विदा दिएको छ । स्थानीय तहमा कार्यपालिकाको निर्णयबिना कुनै निर्णय गर्न पाइदैन । तर कालिगण्डगीले कानुनको समेत उल्लघंन गर्दै जनैपुर्णिमाको अवसरमा मौखिक सल्लाहको आधारमा विदा दिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्षमण गाहाले गाउँपालिका अध्यक्षले फोन गरेर विदाको सुचना निकाल्न भनेपछि आफुले विदाको सुचना प्रकाशन गरेको प्रतिक्रिया दिए । गाउँपालिका अध्यक्ष वेद बहादुर थापा मगरले भु–गोलको हिसाबले टाढा हुदाँ निर्णय गर्न नसकिएको जानकारी दिए ।

‘फोनबाट त सल्लाह भएर नै विदा दिएका हौँ, तर लिखित गर्नुपर्ने हो ।’ उनले भने, ‘व्यवहारिकताका आधारमा निर्णय लिएका हौँ ।’ जिल्लाको हर्मिचौर लगायतका क्षेत्र टाढा हुदाँ कार्यपालिकाको बैठक बस्न नसकिएको उनले बताए । तर मौखिक रुपमा सल्लाह गरी विदा दिएकोमा भने उनले गल्ति स्वीकार गरे ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार