चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या - Butwal Online

रुकुमपूर्व, ३० साउन । सिस्ने गाउँपालिका वडा नं ३ स्थित ओमप्रकाश खड्काको घरमा १११ वटा माहुरीका घार छन् । शुरुआती चरणमा रहरले एक घारमा माहुरी राखेका ओमप्रकाश अहिले व्यावसायिक रुपमा माहुरी पाल्न शुरु गरेका छन् ।



यो व्यवसायबाट राम्रो आम्दानी भएको पनि उनले बताए । तर सोचेजतीको काम गर्न सजिलो त कहाँ छ र ? ओमप्रकाशलाई आजभोलि माहुरीको खाना जुटाउन निकै मुस्किल परेको छ । माहुरीका लागि चरण क्षेत्रको अभाव हुँदा माहुरीपालन व्यवसाय अगाडि बढाउन मुस्किल परेको उनले बताए ।

वर्षा शुरु भएसँगै लगाताररुपमा पानी पर्न थालेपछि आहारका लागि माहुरी घारबाट बाहिर निस्कन सकेका छैनन् । माहुरीलाई बचाउनका लागि चिनी खुवाइरहेको उनले बताए । त्यसैगरी सोही ठाउँका कमलाल खड्को घरमा पनि ५५ वटा माहुरीका घार छन् । माहुरीको मह बेचेर जीविकोपार्जन गर्दै आउनुभएका कमलाल पनि माहुरीसँगै रमाउन चाहन्छन् ।

तर आजभोलि उनलाई चाहनाले मात्र नपुग्ने रहेछ भन्ने आभास भइसकेको छ । किनभने उनलाई पनि आफूले पालेका माहुरी बचाउन मुस्किल परेको छ । वर्षाको समयमा लगाताररुपमा परिरहने पानीले गर्दा माहुरी आहारा जुटाउन जान नसक्ने भएका कारण चिनी खुवाएर पाल्नुपर्ने स्थिति सिर्जना भएको बताए।

व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसानले यतिबेला माहुरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् । वर्षाको समयमा मात्र नभई अहिले त बाह्रै महीना माहुरीलाई चरण क्षेत्रको अभाव भएको स्थानीयवासी बताउँछन् । कतिपय माहुरी पालकले भने प्रविधिको अभावले पनि माहुरीपालनबाट उल्लेख्य आम्दानी लिन सकिरहेका छैनन् ।

सिस्ने– ३ पोखरामा जिल्लाकै सबैभन्दा बढी मह उत्पादन हुने क्षेत्र हो । वर्षाको समयमा पानी पर्ने र अन्य समयमा कृषकले विस्तारै फलफूल खेती गर्न छोडेपछि माहुरीलाई रसको अभाव परेको हो । पछिल्लो चरणमा जिल्लामा तोरीको खेती गर्नेको सङ्ख्या ह्वात्तै घटेपछि माहुरी कृषकलाई समस्या भएको हो । तोरी लगाएर तेल निकाल्ने झण्झट, उत्पादनमा कमी आउनु र जनशक्तिको अभाव लगायतका कारणले तोरीखेती गर्ने किसान घटेका हुन् ।

जथाभावी विभिन्न प्रकारका विषादी प्रयोग गर्नेक्रम बढ्दै जाँदा माहुरी मरेर जाने गरेको सिस्ने गाउँपालिका–५ का अर्का माहुरीपालक पूर्णबहादुर बुढामगरले बताए । विगत २० वर्षदेखि २० देखि २५ वटा घारमा माहुरी पाल्दै आएका बुढाको यतिबेला ११ वटा घारमा मात्र माहुरी जीवित रहेको बताए ।

चरण, प्रविधि अभाव र जथाभावी विषादी प्रयोगका कारण माहुरी मरेर गएको उनले बताए । “किसानले जैविक मल प्रयोग गरेर बाली लगाउने बेलासम्म माहुरीले राम्रो मह लगाउने गरेको थियो”, सिस्ने गाउँपालिका– ३ पोखराका अर्का माहुरीपालक लीलाराम खड्काले बताए, “जब कृषकले उन्नत प्रजातिका बीउबिजन, रासायनिक मल, अनधिकृत विषादी प्रयोग गर्न थाले माहुरीको जैविक प्रणालीमा गम्भीर असर परेको छ ।”

पछिल्लो समय विभिन्न प्रकारका विषादीको बढ्दो प्रयोग, जमीन बाँझो राख्ने लगायतका कारणले माहुरीलाई असर परेको उनको भनाइ छ । माहुरीलाई रसको अभाव हुन नदिनका लागि चिउरी फँडानीलाई रोक्ने तथा नयाँ बिरुवा रोप्नुपर्ने, पल्टी नामको फूल फुल्ने बिरुवा सबैले घरघरमा रोप्नुपर्ने त्यहाँका स्थानीयले बताएका छन् । पल्टी नामको फूल फुल्ने एउटा बोटले तीन वटा घारको माहुरीलाई पर्याप्तमात्रामा रस दिने स्थानीयवासीले बताएका छन् ।

माहुरीको पकेट क्षेत्र घोषणा गरिएको सिस्ने गाउँपालिका– ३ का अधिकांश नागरिकले माहुरी पालेका छन् । माहुरीपालनका लागि सिस्ने गाउँपालिकाले माहुरी व्यावसायिक, कृषि सहकारी तथा कृषि फर्मलाई अनुदान दिएको छ । गाउँपालिकाले यस वर्षलाई माहुरी प्रवद्र्धन वर्षका रुपमा मनाउने तयारी गरेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताईन ।

त्यसैगरी यसै वर्षमा गाउँपालिका र ५ नं प्रदेश सरकारले संयुक्तरुपमा माहुरी कृषकलाई अनुदानका लागि रु २५ लाख बजेट छुट्याएको पनि उनले जानकारी दिईन ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार