पत्रकार अधिकारीको अन्त्येष्टि, स्वःअधिकारीको सम्झनामा नगरपालिकाले अक्षयकोषको स्थापना गर्ने - Butwal Online

बुटवल, १ भदौ ।
सप्तरीमा दुर्घटना परी मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको अन्तिम दाहसंस्कार गरिएको छ । सामाजिक परम्परा अनुसार स्थानीय मगरघाटमा अधिकारीको दाहसंस्कार गरिएको हो ।

 



आइतबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित घरमा शव ल्याएर मगरघाटमा लगिएको थियो । अधिकारीलाई उनका छोरा दिप्सन अधिकारीले दागबत्ती दिएका थिए । शनिबारदेखि नै निकै ठूलो संख्यामा आफन्त तथा शुभेच्छुकहरुको भीड लागेको थियो । आइतबार प्रदेश सरकारका मन्त्रीहरु बैजनाथ चौधरी, लिला गिरी, नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, प्रदेश सांसदहरु, कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, विभिन्न स्थानीय सरकारका प्रमुखलगायतले अन्तिम श्रद्धान्जली दिएका थिए ।

त्यस्तै स्व. अधिकारीको पार्थिव शरिरमा नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली दिएको थियो । महासंघका अध्यक्ष्ाँ यानेन्द्र जिसी, केन्द्रीय सदस्य बसन्त गिरी, प्रदेश ५ कावाअध्यक्ष भरत केसी, रुपन्देही सचिव रामप्रसाद आचार्यलगायतले महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे मृतक स्व. पत्रकार अधिकारीको निधनले स्तब्ध बनाएको बताए ।

उनले स्व. पत्रकार अधिकारीको नाममा तिलोत्तमा नगरपालिकाले पत्रकारिता अक्षयकोष स्थापना गर्ने र अधिकारीको श्रीमतीलाई स्थानीय सरकारको तर्फबाट रोजगार व्यवस्था गर्ने र छोराछोरीको अध्ययनको व्यवस्था मिलाउने प्रतिवद्वता जनाए । अधिकारीको निवासमा नेपाली कांगे्रस रुपन्देहीले झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

कांगे्रस रुपन्देही सभापति अब्दुल रज्जाकले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली दिएका हुन् । यसैबीच प्रदेश ५ सरकारले दुर्घटनामा ज्यान गुमाएका कलमजीवी पत्रकार डायलसन अधिकारीको अकल्पनीय निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । प्रवक्ता बैजनाथ चौधरीद्वारा आइतबार जारी विज्ञप्तीमा अत्यन्त मिलनसार तथा कर्मठ पत्रकार अधिकारीको निधनले स्तब्ध बनाएको उल्लेख छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउदो असोज ९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसार गर्न पूर्वको विराटनगर र झापा जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीप शनिवार विहान सप्तरीको कञ्चनरुप नगरपालिका –११ बक्साह चोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो । स्वर्गीय अधिकारीको शव सप्तरीबाट आईतवार विहान उहाँको निवास तिलोत्तमा नगरपालिका वडा नं. ३ मा ल्याई अन्तिम श्रद्धाञ्जली पछि अन्त्येष्टी गरिएको हो ।

को थिए स्वः अधिकारी

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी घर रहेका ४२ वर्षीय डायलनस अधिकारीका बृद्ध बुवा ,एक छोरा,एक छोरी र श्रीमती छन् । विगत लामो समय देखि रुपन्देहीको पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार डायलनस अधिकारी रेडियो नेपालका लागि रुपन्देही संवाददाताको रुपमा कार्यरत थिए । यस्तै रेडियो नमस्तेको संस्थापना काल देखि नै स्टेशन प्रमुखको रुपमा रहेका अधिकारी केही समयदेखि आफ्नै सक्रियतामा लगन मिडिया प्रा९लि० दर्ता गरी ई–लगन न्युज डट कम सञ्चालन गर्दै आएका थिए ।

स्व। पत्रकार अधिकारी पछिल्लो केही बर्ष देखि बुटवल टुडे दैनिकको आर्थिक पृष्ठ संयोजकको रुपमा जिम्मेबारी प्राप्त गरेका थिए भने बुटवल टुडे दैनिकको उत्कृष्ठ महिनाको संवादाताको रुपमा समेत पुरस्कृत भएका थिए ।

पत्रकार अधिकारी बुटवल उद्योग बणिज्य संघको प्रेस सल्लाहकार पदमा समेत कार्यरत रहे। पत्रकारिताको दौरानमा अधिकारीले उत्कृष्ठ औद्योगीक पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघले प्रदान गर्ने उत्कृष्ठ पत्रकारिता पुरस्कार, वातावरण पत्रकारिता पुरस्कार लगायत एक दर्जन भन्दा बढि पुरस्कार प्राप्त गरेका थिए ।
शालीन स्वभावका पत्रकार अधिकारी लुम्बिनी आर्थिक पत्रकार संघको अध्यक्षको रुपमा समेत रहेका थिए ।

यस दुखद घडिमा बुटवल अनलाइन टिम निःशब्द छौ ।

स्वःअधिकारी प्रति हार्दिक श्रद्धाञ्जली ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार