३० करोडका साधन किन्दा प्रदेश नं. ५ मा ८ वटा मात्र एम्बुलेन्स खरिद - Butwal Online

बुटवल, २ भदौ । ३० करोडका सवारी साधन खरिद गरेको पाँच नम्बर प्रदेश सरकारले गत आर्थिक वर्षमा ८ वटा मात्र एम्बुलेन्स खरिद गरेको छ ।



२२ वटा एम्बुलेन्स खरिदको लागि २ करोड ८६ लाख बजेट छुटयाएकोमा ९३ लाख ६१ हजार बजेट खर्च गरेर ८ वटा मात्र खरिद गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न जिल्लाका स्वास्थ्य कार्यालयहरु र अस्पतालहरु लाईनै एम्बुलेन्स खरिद गर्न अख्तियारी दिएको थियो ।

मन्त्रालयले स्वास्थ्य कार्यालय नवलपरासी, त्रिचन्द्र अस्पताल नवलपरासी, प्युठान अस्पताल, स्वास्थ्य कार्यालय प्युठानका लागि एम्बुलेन्स खरिद गरेका हो । उक्त एम्बुलेन्स नवलपरासीले सुस्ता गाउपालिकाका लागि प्रदान गरेको छ भने प्युठानले झिमरुक गाउपालिकामा रहेको बादी चौर स्वास्थ्य चौकीलाई प्रदान गरेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय रुपन्देहीका लागि खरिद भएको एम्बुलेन्स मर्चवारी गाउपालिकाको रायपुर प्राथमिक स्वास्थ्य चौकीलाई प्रदान गरेको छ । अर्घाखाँची अस्पताल, स्वास्थ्य कार्यालय अर्घाखाँचीका लागि खरिद भएको एम्बुलेन्स एउटा सितगंगा नगरपालिकामा रहेको लामीदमार सामुदायिक ईकाईमा प्रदान गरिएको छ ।

स्वास्थ्य कार्यालय पाल्पामा खरिद भएको एम्बुलेन्स निस्दी गाउपालिकामा रहेको सहलकोट सामुदायिक स्वास्थ्य ईकाईमा प्रदान गरिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

प्रदेश सरकारले एम्बुलेन्सको अभावको कारणले गर्दा लक्ष्य अनुसार खरिद गर्न नसकेको बताएको छ । एम्बुलेन्स खरिदको लागि ४ वटा विभिन्न जिल्ला कार्यालयहरुले प्रकृया अगाडि बढाएको भए पनि खरिद गर्न भने गर्न सकेनन् । आर्थिक वर्ष ०७६÷०७७ को लागि २ करोड २५ लाखमा १५ वटा एम्बुलेन्स खरिद गर्ने लक्ष्य सरकारको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार