लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव - Butwal Online

बुटवल, ५ भाद्र । प्रदेश ५ सरकारले मनाई रहेको लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य सहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले दोस्रो सडक खाना महोत्सव आयोजना गर्ने भएको छ ।



संघले आउदो पुष १४ गते देखि १६ गते सम्म ३ दिने सडक खाना महोत्सव गर्ने भएको संघका अध्यक्ष समुन्द्र जिसीले बताए । सडक खाना महोत्सव बुटवलमा आयोजना गरिने र गत वर्षको अनुभवलाई मध्य नजर गरि यस वर्ष सडक खाना महोत्सवलाई थप व्यवस्थित गरिने महा सचिव माधव कुमार खनालले बताए ।

गत वर्ष आयोजना गरिएको एक दिवशीय खाना महोत्सवमा ५५ वटा व्यवसायीक स्टलको व्यवस्था गरिएको थियो भने डेढलाख दर्शकले अवलोकन गरि १ करोडको कारोवार भएको संघका कोषाध्यक्ष टंक प्रसाद पराजुली प्रकाशले बताए । यस वर्षको खाना महोत्सवमा २ लाख दर्शकलाई अवलोकन गराई ३ करोडको कारोवार गर्ने लक्ष्य लिएको समेत कोषाध्यक्ष पराजुलीले बताए ।

खाना महोत्सवमा विभिन्न जात जातीका खानाका परिकारका साथै बुटवललाई चिनाउने गरि विशेष परिकार उपभोक्तालाई पस्किने गरि तयारी गर्न शुरु गरिएको अध्यक्ष जिसीले बताए ।

यसै बीच संघको बिहिवार वसेको बैठकले महिलाहरुको महान चाड हरितालिका तीजलाई सभ्य र व्यवस्थित तवरले मनाउने गरि यही भाद्र ८ गते आईतवारका दिन बुटवलको ईटाभर्टी स्थित एशियन पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक वाबुराम गौतमले बताए ।

संघले आयोजना गरेको तीज मिलन कार्यक्रमा महिला दिदी बहिनीहरुलाई उपस्थितीका लागि कार्यक्रककी सहसंयोजक लक्ष्मी रिजालले आहवान गरेकी छन् । यसैबीच होटल तथा रेष्टुरेण्ट व्यवसाय पर्यटन व्यवसाय भएकाले यस व्यवसायलाई मर्यादित र उपभोक्ता मैत्री बनाउन संघले साप्ताहिक रुपमा अनुगमनलाई तिब्रता दिएको विकृति विसंगती न्यूनिकरण उप समितिका संयोजक विष्णु अधिकारीले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार