फुलबारीको काठ तस्करी बिरुद्ध भण्डाफोर कार्यक्रम - Butwal Online
फुलबारीको काठ तस्करी बिरुद्ध भण्डाफोर कार्यक्रम

बुटवल, ५ भदौ । बुटवल उपमहानगरपालीका २ स्थित ऐतिहासिक मणिमुकुन्द सेन उद्यान (फुलवारी) मा भएको काठ तस्करी बिरुद्ध आज फुलबारीमै भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ ।



फुलवारीस्थित चितुवा राख्ने खोरमा लुकाई राखेको लाखौं रुपैयाँको काठ बरामद भैसकेपछि पनि दोषी उपर कारबाही नभएको भन्दै स्थानिय आम उपभोक्ताले कारबाहीका लागि दवाव दिने उद्देश्यले भण्डाफोर कार्यक्रम आयोजना गरेका हुन् ।

भदौ ५ गते मणिमुकुन्द पार्क फुलबारी जाँउ, काठ तस्करी र भ्रष्टाचार बिरुद्ध भण्डाफोर गरौं भन्ने मुल नाराका साथ आयोजित सो कार्यक्रममा बुटवल सामुदायिक वन उपभोक्ता समितिका तत्कालिन निर्वाचित अध्यक्ष माधव प्रधानले मणिमुकुन्द सेन उद्यान (फुलवारी)मा रहेका काठ तस्करी गर्नकै लागि निर्वाचीत समितिमा बिवाद गराएर बिधान बिपरित नयाँ समिति गठन गरिएको दाबी गरे ।

उपभोक्ता समितिमा बिवाद उत्पन्न गराएर अन्यौलता सिर्जना गरि स्थानिय वडाका अध्यक्षहरुले फुलवारीको समितिसँग मिलेर ढुंगा, माटो, काठ आदी अबैध रुपले तस्करी गरि करोडौं कुम्लाएको आरोप प्रधानले लगाए । उनले अनियमिता र भ्रष्टाचार अन्त्य गर्न आम उपभोक्ता एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा तत्कालिन समितिका उपाध्यक्ष जुद्धबहादुर केसीले मणिमुकुन्द उद्यान संरक्षण समितिका पदाधिकारी र स्थानिय जनप्रतिनिधीहरु नै रुख मास्न र काठ तस्कर गर्न अग्रसर रहेको आरोप लगाए । बुटवलका जनता नजागे फुलबारीका तस्करहरुले बुटवलकै गहनाका रुपमा रहेको सामुदायिक वन र फुलवारी दुवै सखाप पार्नेतर्फ ईंगित गर्दै केसीले सम्पुर्ण उपभोक्ता तथा आम जनसमुदायहरु एकजुट भई काठ तस्करी र भ«ष्टाचार बिरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता औल्याए ।

उनले काठ तस्कर बिरुद्ध सम्बन्धित निकायले कार्बाही नगरे त्यस बिरुद्ध पनि आफुहरु माथिल्लो निकायमा जाने चेतावनी समेत दिए ।
त्यस्तैगरी कार्यक्रममा समाजवादी पार्टीका बुटवल उपमहानगरपालिका अध्यक्ष बामदेव भुसाल,बुछवल उपमहानगरपालिका वडा नं १ का पुर्व अध्यक्ष नरेन्द्र बस्नेत,राष्ट्रिय जनमुक्ति पार्टीका नेता तेज बहादुर पुन, उपभोक्ता बिष्ण प्रसाद प्रधान लगायतले बोल्दै यसअघि पनि पटक÷पटक रुख काटेर अबैध तस्करी भएको र सम्बन्धित निकायमा उजुरी गर्दा पनि कुनै कारबाही नभएकोले उपभोक्ताहरु बिरोधमा उत्रिनु परेको बताए ।

वनको संरक्षण गर्ने समितिका पदाधिकारीहरु र स्थानिय जनप्रतिनिधीहरुको मिलोमतोमा काठ तस्करी भए पनि वन कार्यालयले कार्बाही नगर्नुमा सो कार्यालयका कर्मचारीहरुको समेत मिलेमतो भएको उपभोक्ताहरुको आशंका छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार