बीरताको प्रतिक रणउजीरेश्वरी भगवतीको रथायात्रा सम्पन्न फोटो फिचर - Butwal Online

सुनिल कार्की
पाल्पा, ७ भदौं । बीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा शनिबार तानसेनमा भब्य रुपमा निकालिएको छ । यस क्षेत्रमा भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिन्छ ।



नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ ।

विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय वर्ष अघिदेखि बिजय उत्सब स्वरुप सो जात्रा निकालिदै आएको छ ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै आज सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।
अंग्रेज संगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ ।

जात्रा अवलोकन गर्न पाल्पा सहित छिमेकी बिभिन्न जिल्लाका हजारौ सर्वसाधारणहरु आइपुगेका थिए । त्यस्तै जिल्ला स्थित सरकारी, गैरसरकारी कार्यालय, सामाजिक संघसंस्था, टोलबिकास संस्था, बिद्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीले रथयात्रामा सहभागिता जनाएका थिए ।

लडाइ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किंम्वदन्तीमा उल्लेख छ ।

यो दिनलाई पाल्पाको एउटा महत्वपूर्ण पर्वको रुपमा समेत लिइन्छ । रथलार्इं स्थानीय सिद्धेश्वरका कुमाल युवाहरुले बोकेर बजार परिक्रमा गराएको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए ।

दिउँसो १२ ः४३ मा भगवती मन्दिरमा नेपाली सेनाले सलामी दिएपछि निकालिएको भगवतीको रथलाई भजन कृतन बाजागाजा सहित हजारौ जात्रालुहरुको सहभागितामा बजार परिक्रमा गराइएको थियो ।

साँझ ६ बजे रथलाई मन्दिरमा भित्र्याइएको थियो । रथलाई भगवती मन्दिरबाट सित्तलपाटी, तर्सोसडक, लहरेपिपल, भिमसेनटोल, बसन्तपुर हुँदै पुनः भगवती मन्दिरमा ल्याएर बिर्सजन गरिएको छ ।

यो बीचमा नेपाली सेनाको गोरखदल गणले सलामी दिएको थिए । यसैबीच रथयात्रामा नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापाको सहभागिता रहेको थियो ।

फोटो / सुनिल कार्की

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार