भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन : मन्त्री बाँस्कोटा - Butwal Online

अर्घाखाँची, ८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् ।



सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए ।

उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिए ।

उनले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताए । उनले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको बताए । कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको बताए ।

देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उनले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उनको भनाइ थियो ।

उनले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरीबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताए ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार