लोकतन्त्रमाथि अहिल्यै खतरा आइसकेको छैन– मन्त्री बास्कोटा - Butwal Online

बुटवल, ८ भदौ । सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले लोकतन्त्रमाथि खतरा आइनसकेको बताएका छन् । प्रेस संगठन रुपन्देहीद्धारा आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले लोकतन्त्रमाथि खतरा आइसकेको नभई लोकतन्त्रमाथि आक्रमण गर्नेहरु सक्रिय भएको बताएका हुन् ।



कार्य सम्पादन सम्झौता पश्चात सचिवको सरुवाले मन्त्रालयको कामकाज प्रभावित नहुने दाबी समेत गरे । सचिवहरुसँगको कार्यसम्पादन लगत्तै सचिवहरुको सरुवाबारे पत्रकारको जिज्ञासामा मन्त्री बास्कोटाले भने–‘एउटा सचिवसँग गरेको सम्झौयो अर्को सचिवसँग कार्यान्वयन नहुने भन्ने हुँदैन ।’

कार्यसम्पादन सम्झौताको व्यवस्था पहिले पनि भएको तर कार्यान्वयनमा नआएको भन्दै उनले त्यसलाई बर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताए । कर्मचारीतन्त्रमा काम एकले अर्कोलाई पन्छाउने प्रबत्ति रहेको भन्दै उनले कार्यसम्पादन सम्झौताले काम पन्छाउने प्रबृत्तिको अन्त्य हुने बिश्वास व्यक्त गरे ।

सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन मात्रै गर्ने बताउदै उनले त्यसैका लागि सरकारले मिडिया सम्बन्धी नयाँ कानून ल्याउन लागेको उल्लेख गरे । उनले मिडिया सम्बन्धी विधेयक समितिबाट पारित भैसकेको भन्दै सो विधेयक अब संसोधन नहुने जानकारी समेत दिए ।

मिडिया सरकारप्रति नभएर नेपाल र नेपाली जनताप्रति भने उत्तरदायी र जिम्मेवार बन्नुपर्ने उनको तर्क थियो । टेलिभिजनमा क्लिनफिड र समानुपातिक विज्ञापन वितरण प्रणाली पनि सरकारले लागु गराएरै छाड्ने बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार