प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको भुमिका कमजोर - Butwal Online
प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको भुमिका कमजोर

आफै संलग्न बैठकको आशय बिपरित सचेतक बिदेश भ्रमणमा
बुटवल, १२ भदौ । प्रदेश नं ५ को प्रदेशसभामा नेपाली कांग्रेसको भूमिका कमजोर रहेको पाइएको छ । नेपाली कांग्रेस संसदीय दलका पदाधिकारीहरुको गैर जिम्मेवारीपनका कारण प्रदेश नं ५ मा सिंगो पार्टीको भुूमिकामाथिनै प्रश्न चिन्ह खडा भएको कांग्रेस सांसदहरुकै गुनासो छ ।



प्रदेशसभामा कांग्रेसका पदाधिकारीहरुको ससक्त भूमिका निर्वाह गर्न नसक्दा प्रदेश सरकारको नेतृत्व गरेको नेकपाले कांग्रेस भित्रै खेल्न थालेको प्रदेशसभामा नेपाली कांग्रेसकै सांसदहरु बताउछन् । आफै संलग्न रहेको बैठकको आशय बिपरित कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्री चीन भ्रमणमा जानुले प्रदेशसभामा कांग्रसको भूमिका थप कमजोर देखिएको हो ।

प्रदेश सरकारको तर्फबाट चीनको गान्सु प्रान्त जनसरकारद्धारा आयोजित चौथो सिल्करोड अन्तराष्ट्रिय सांस्कृतिक प्रदर्शनी तथा नौं औं दुन्हुवाङ्ग सिल्करोड अन्तराष्ट्रिय पर्यटन महोत्सव समापन कार्यक्रममा सहभागि हुने प्रदेशसभा सदस्यहरुको टोलीमा पार्टीसँग सरोकार नगरी एक जना कांग्रेस सांसदको नाम राखिएको भन्दै कांग्रेस प्रदेश सरकारप्रति ससंकीत बनेको थियो । पार्टीसँग सरोकारै नगरी बिदेश भ्रमण टोलीमा आफ्नो पार्टीका सांसदको नाम समावेस गरेको भन्दै कांग्रेस सांसदले प्रदेशसभा बैठकमै प्रदेश सरकार समक्ष प्रश्न उठाएका थिए ।

गत साउन १६ गतेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य बिरबहादुर रानाले प्रदेश सरकारले संसदीय मुल्य मान्यता मिचेर भ्रमण टोलीको नाम चयन गरेको भन्दै आपत्ति जनाएका थिए । उनले भ्रमण टोलीमा सहभागिहरुको नाम छनोट दलीय प्रतिनिधित्वको आधारमा गराइएको हो कि व्यक्तिगत रिलेशनको आधारमा हो ? भनि प्रश्न समेत गरेका ।

साही दिन बसेको नेपाली कांग्रेस प्रदेश संसदीय दलसँगको बैठकले पार्टीको संसदीय दलसँग समन्वय नगरी प्रदेश सरकारले पार्टीको तर्फबाट एक जना प्रदेशसभा सदस्यको नाम छनोट गरेपछि सो बिषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । पार्टीसँग सरोकार नगरी भ्रमण टोलीमा कांग्रेस सांसदको नाम समावेस गरेको बिषयमा पार्टीकै सांसदले प्रदेशसभामा बिरोध जनाउने र संसदीय दलकै बैठकको त्यसप्रति ध्यानाकर्षण गराउने निर्णय बिपरित कांग्रेसको तर्फबाट विदेश भ्रमणमा सहभागिता जनाएको बिषयमा प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमालले पार्टी भित्रै त्यति बिरोध हुँदा हुँदै नगएको भए राम्रो हुने प्रतिक्रिया दिए ।

कांग्रेसको बिरोधका बाबजुद पनि बिवादीत प्रदेशसभा सदस्यलाई किन भ्रमण दलमा सहभागि गराइयो ? भन्ने जिज्ञासामा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पार्टीको संसदीय दलका नेतासँग सल्ललाह गरेर नाम समावेस गरिएको बताए । यद्यपी कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल लामो समयदेखि बिरामि परेर काठामाण्डौमा उपचाररत छन् ।

प्रदेशसभामा कांग्रेस संसदीय दलका उपनेता बिरेन्द्र कनौडीया प्रदेशसभामा सबैभन्दा कम उपस्थित हुने प्रदेशसभा सदस्यमा पर्दछन् ।
प्रदेश सरकारको तर्फबाट प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वमा चार जना प्रदेशसभा सदस्यहरु सहित नौ सदस्सीय टोली आज चिन प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा भ्रमणमा मन्त्री गिरी सहित प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने, सरास्वती गौतम, निर्मला क्षेत्री, बावुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत कृष्ण केसी र लुम्बिनी प्रादेशिक अस्पतालका डा. सागर न्यौपाने रहेका छन् । चीन भ्रमणमा गएको मन्त्री गिरी नेतृत्वको टोली यही भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार