हरितालिका तीज : पुरानो संस्कृति हराउँदै, तडकभडक र विकृती मौलाउँदै - Butwal Online

रमेश पराजुली
बुटवल, १४ भदौ । दिदिबहिनी र दाजुभाइ बिचको माया, ममता, स्नेह र सम्बन्धलाई अझै गाढा बनाउने हिन्दु नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज यतिबेला तपाईं हाम्रो घरमा भित्री सकेको छ । गाउँ शहर जताततै तीज पर्वको छुट्टै रौनक छाएको छ ।



सडक, चोक जताततै रातो साडीमा सजिएर चिटिक्क परेका आमा, दिदिबहिनीहरूलाई देख्न सकिन्छ । महिला हरुमा हर्ष उल्लास छाएको छ यतिबेला । महिलाहरुले वर्ष दिनभरिको ब्यथा, पीडा, भोगाइहरु गित संगीत मार्फत व्यक्त गर्दै सासू बुहारी बिचको सम्बन्धलाइ मजबुत बनाउने पर्वको रुपमा लिइने गरिन्छ तीजलाइ । तीजका छुट्टै बिशेषता छन् जो आजकलको भड्किलो फेशनले सम्पुर्ण रितिरिवाज अनि हाम्रो पुरानो संस्कृतीको स्वरुप नै फेरिएको हो कि जस्तो आभास हुँदै छ।

पछिल्लो समय यस्तै भड्किला तीज गीतहरुले नेपाली समाजमा विकृति मात्र भित्र्याएको छैन, विशेष त मौलिक तीज गीतकै गरिमामाथि प्रहार गरेको छ । नेपाली मौलिकता बोकेका तीज गीतहरु कमै मात्र बज्छन्, पप, हिन्दी र अंग्रेजी गीतहरुले समेत तीजमा राम्रो बजार पिटेको देखिन्छ । महिना दिन अगाडि देखि दर खाने, गित संगीत को नाममा उत्ताउला र समाजमानै नपच्ने खालका शब्द हरुमा गित गुन्जने जस्ता अस्वभाबिक कुराहरुले कतै हाम्रो पुरानो संस्कृती लोप हुने त होइन भन्ने डर छ ।

मलाइ थाहा भए अनुसार श्रीकृष्ण जन्मास्टमी पश्चात् तीजको दिन अनि त्यस पश्चात् पन्चमीको दिन सम्म साँझ खाना खाएपछि गाउँ भरिका आमा, दिदी बहिनी जम्मा भई मिलेर कतै बसि गित गाउने गर्नुहुन्थ्यो । अझै पनि याद आउँछ मलाई त्यो बेलाको जहाँ निकै भावुक गितहरु गुन्जने गर्थे । सासु बुहारी को मनका ब्यथा हरु पोखिने गर्थे, जहाँ उनिहरु बिचको दुरिलाइ कम गर्ने अनि आत्मियता थपिने बिश्वास लिइन्थ्यो । तीजमा माइत बाट दाजुभाइ या बुवा दिदी बहिनी या छोरी लिन चेलिको घर जाने चलन थियो । आजभोली त तिज मा ज्वाइँले नै छोरी पुराउन जाने अनि दर खाएर आउने गरेको पनि देखिएको छ । जसले हाम्रो संस्कृतीमा धेरै नै परिबर्तन आएको जस्तो देखिन्छ । दर कै कुरा गर्ने हो भने पनि पहिले घरमै पाक्ने बिभिन्न परिकार अहिले होटल र पार्टी प्यालेसमा पाक्न थालेका छन् ।

सातै डाडा पारी दिनु भयो बाबाले
तरनै सकिन आइन बरिलै…
कहाँ जान्छौ रानी चरी बगाल,
बरिलै भगवानलाई भेटन 
भगवानलाई भेटन केके पाहुर चाहिन्छ ?
बरिलै फूलपाती चन्दन…

म सानो छँदा गाउँघरमा आमा, दिदी, भाउजुहरुले तीजको समय यस्तै गीतहरु गाउनुहुन्थ्यो । जुन गीतहरुमा माइतीका गुनगान अनि गुनासो, बिहे गरेर श्रीमानको घर गएपछि भोग्नुपरेका दु:ख कष्ट, पिडा लगाएतका कुराहरु समेटिएको हुन्थ्यो । नेपाली समाजमा पछिल्लो समय तीज मनाउने शैलीहरु फेरिएका छन् । हिजो थपडी, डम्फु, मादलमा गाइने सामान्य तीज गीतहरु अहिले आधुनिक बाजागाजामा लयबद्ध छन्  । अर्कोतिर अहिले धेरैजसो तीजका गीतहरुमा मौलिकता छैन, कतिपय गीतहरु पुरानै गीतहरुलाई तोडमोड गरेर गाइएका छन् त कतिपय गीतहरुमा तीजको आभास नै छैन ।

जेठीमा भाउजुले सुकाएको बिस्सुन
भँगेरी चरीले मैदानमा लरी लरर…
जेठामा दाजीले टक्क बचन लाउँदा
घर मेरो छैन र रुन्छ नि मन धरी धरर..

तर समय परिवर्तन भएको छ । मानिसका सोचाइ पनि फेरिएका छन् । समयअनुकूल परिवर्तन जरुरी पनि छ । नेपाली पहिचान, रीतिरिवाज अर्थात चालचलन र संस्कृति मात्र होइन सम्पदा बनेको पर्व जगेर्ना सबैको कर्तव्य हो । आज भोलि त दर पनि पार्टी प्यालेस मा पाक्ने पुलाउ, मासुमा परिणत भएको छ । महिना दिन अगाडि देखि लाखौ खर्च गरि तिज मनाइने भएछ । यसो गर्दा साच्चै नै हाम्रो संस्कृति जोगिन्छ र ? यो पश्नको बिषय बनेको छ । फेशन सङ्गै समय अनुसार बदलिनु पर्छ तर बदलिनु छ भन्दै मा आफ्नो संस्कृती नै जोगाउन नखोज्नु हाम्रो लागि अत्यन्तै घातक हुन सक्छ ।

अहिले हामी सामाजिक संजालको युगमा छौ । जताततै तडक भडक र देखासिकीको प्रभाव छ । धन हुनेले देखाउने धेरै अवसर पाएका छन् भने धन नहुनेले पनि धेरै हेर्ने अवसर पाएका छन् । नयाँ पुस्ता र हुने खाने देखाउन अग्रसर छन् भने पुरानो पुस्ता हेर्नमा नै मख्ख छन् । अनि हुने र नहुने बीचको खाडल अझै धेरै बढेको छ । तीज नेपाली महिलाहरुको लागि सबै भन्दा महान पर्व हो। यो बिषयमा कसैको दुई मत छैन र हुनु पनि हुँदैन । तर, त्यसो भन्दैमा तीजलाई सबैभन्दा खर्चिलो, तडकभडक र लामो पर्व बनाउनु पर्छ भन्ने पनि हैन ।

पहिलाको तुलनामा समाज निकै नै परिवर्तन भइसकेको र महिलाहरू त्यत्तिकै स्वतन्त्र भएकोले एक वर्षमा आउने तिजमा एकपटक मज्जाले मनोरन्जन लिन पाइन्छ । तर उत्ताउलो र धर्म संस्कृतिलाई नै आँच आउने शब्द र दृश्य हुनु चाहिँ पक्कै पनि राम्रो होइन । परापुर्व कालदेखि नै तिजको दिन श्रीमानको आत्मीयता, इमान्दारिता दिर्घायु र पारिवारीक सुखका गुणगानमात्र होइन, वर्ष भरिका पीडा र वेदनालाई लय हालेर गीत आउँथे । आजकल टिभी, रेडियो तथा सामाजिक सञ्जालहरूमा नयाँ नयाँ र उत्ताउला गीतहरू प्रसारण हुने गरेका छन् । हामीले आधुनिकताको नाममा मौलिकता बिर्सनु हुँदैन ।

महिनौँ अगाडिदेखि खाने त्यो दरको के महत्त्व हुन्छ ? त्यो त थाहा छैन मलाई तर यसले समाजमा विकृति भने प्रशस्त मात्रमा भित्र्याएको छ । पार्टी प्यालेस, होटल र क्याट्रिङको व्यवस्था गरेर खुवाउने दरका कार्यक्रममा विशेषगरी हुने खानेका महिला नै जाने गरेका छन् । आयोजक पनि तिनै बनेका छन् । ती ठाउँ उनीहरूका लागि गरगहना देखाउने उपयुक्त ठाउँ भएको छ । अनि, एक अर्कासँग तुलना गर्दै कुन राम्रो, कुन लाउने, उसको भन्दा आफ्नो के कम भयो आदि आदि कुरामा ध्यान दिने गरेका छन् । जतिसुकै धनी, जति नै पढेलेखेका भए पनि महिलामा तुलाना गर्ने बानी अलि बढी नै हुन्छ । त्यसैले सानो पदमा होस् कि उच्च पदमा होस् आफ्ना श्रीमानलाई यस्तो चाहियो र उस्तो चाहियो भन्दै बढी पैसा कमाउन दबाब दिने गर्छन् ।

तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न र तीज भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन प्रशासनले आग्रह गरेको छ तर त्यसको खासै वास्ता गरेको पाइदैन । तीज पर्वलाइ नारिहरुलेनै भड्किलो बनाउने नगरौँ । आफ्नो संस्कृतिको सधैं सम्मान गरौँ र भाबी पिडिका लागि हाम्रो संस्कृतीको जगेर्ना गरौँ । हुँदा खानेहरु पनि तीजमा उत्तिकै रमाउन सके बल्ल यो साझा पर्व बन्छ ।

आज महिलाहरुले भड्किलो तीज मनाइरहँदा पुरुषलाई भ्रष्टाचार गर्न झन उत्साहित र अग्रसर बनाउँदै गइरहेका त छैनौँ ? श्रीमतीको दबाब लोग्नेमाथि परेपछि ऊ कसरी हुन्छ पैसा कमाउने ध्याउन्नमा लाग्छ । त्यो भनेको भ्रष्टाचार बाहेक अर्को बाटो हुनै सक्दैन । तपाईहरू तुलना गर्नुस् जब तिजको विकृति बढ्यो राज्यमा भ्रष्टाचार पनि बढ्दो छ । भन्ने गरिन्छ– ‘सज्जन र इमानदार मान्छेलाई पनि कि सारीले कि गाडीले बिगार्छ ।’ यहाँ गाडीले भन्दा पनि सारीले विकृति ल्याएको छ । यसबारे आधा आकास ढाकेका महिलाहरू नै गम्भीर बन्नुपर्ने होइन र ? तिज नारिहरुलाइ सम्मान गर्न आएको एउटा महान पर्व हो । जसले हिन्दु नारिहरुलाइ आत्मसम्मान मिल्ने गर्छ ।

हरेक नेपाली महिलालाई मन पर्ने पर्व हो तीज । तीज मनाउनु पर्छ यसमा कसैको दुइमत छैन तर सबैको पहुँच पुग्ने हिसावले सहज, सभ्य र भव्य तरीकाले मनाउनु पर्छ । तीज मनाउने तर भड्किलो नबनाउने । महिनौंदेखि चल्ने खर्चिलो र भड्किलो तीजलाई कुशे औंसी (बाबाको मुख हेर्ने दिन) देखि पन्चमीसम्म ५ दिन  मनाउने गरेमा सरल र व्यवस्थित हुन्थ्यो कि ? अन्त्यमा : नेपाली महिलाहरुको महान पर्व हरीतालीका तीज सभ्य, सुसंस्कृत र उल्लासमय बनोस । तपाईहरू सबैमा तीजको बिशेष शुभकामना ।

यो पनी पढ्नुहोस

नरीवल जस्तै मेरो ‘बाबा’

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार