रेसुङ्गा नगरपालिकाको ताला बिनावार्ता खोलियो - Butwal Online
रेसुङ्गा नगरपालिकाको ताला बिनावार्ता खोलियो

फेरी तालाबन्दी गर्ने काङ्ग्रेस निकट जनप्रतिधिको चेतावनी

हुमाकान्त पोखरेल
गुल्मी, २० भदौ । रेसुगां नगरपालिकामा लागेको ताला वार्ता नगरिकनै खुलेको छ । शुक्रबार दिउँसो प्रहरीले ताला खुलाएको हो । स्थानीय सरकारकै ढोकामा ताला लगाउनु अनैतिक र गैरजिम्मेवार काम भएको भन्दै बिनावार्ता प्रहरीले ताला खोलेको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १० का वडाध्यक्ष पदम प्रसाद अर्यालले जानकारी दिए ।



नेपाली काङ्ग्रेस निकट जनप्रतिनिधिहरुले बुधबार नगरपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका थिए । रेसुङ्गा नगरपालिका १ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा हुने कक्षा १२ को स्तरोन्नतीसम्बन्धि परिक्षामा केन्द्राध्यक्षको विषयमा काङ्ग्रेस निकट जनप्रतिनिधिले नगरपालिकामा तालाबन्दी गरेका थिए । ‘महेन्द्र नमुना माविको विषय नगरपालिकासँग सम्बन्धित थिएन, त्यसैले नगरपालिकामा ताला लगाउनु गल्ति थियो ।’ वडाध्यक्ष अर्यालले भने, ‘नगरपालिकालाई अनिर्णयको बन्दि बनाउन मिल्दैन ।’

फेरी ताला लगाउछौँ

तालाबन्दी गर्ने काङ्ग्रेस निकट जनप्रतिनिधिहरुले भने आइतबार फेरी तालाबन्दी गर्ने चेतावनी दिएका छन् । वडा नम्मर १३ का अध्यक्ष खुम बहादुर खत्रीले आफुहरुसँग वार्ता नै नगरी ताला खोलिएको भन्दै आपत्ति जनाएका छन् । नगरपालिका विधिमा चल्नुपर्छ भन्ने आफुहरुको मान्यतालाई सामान्य ठाने भविष्यमा जस्तोसुकै दुर्घटना हुन सक्ने उनले चेतावनी दिए ।

यसभन्दा पहिलेका प्रमुख प्रशासकिय अधिकृतहरुले सबै कार्यपालिका सदस्यहरुलाई समान रुपले व्यवहार गरेपनि वर्तमान प्रशासकिय अधिकृतले विभेद गरेको उनले आरोप लगाए । अबको आफुहरुको लडाई नगरपालिका प्रमुख र प्रशासकिय अधिकृतसँग रहेको समेत उनले स्पष्ट पारे । यसभन्दा अगाडी बुधबार लगाएको ताला बिहिबार प्रहरीले जबरजस्ति खोल्दा काङ्ग्रेस निकट जनप्रतिनिधिले पुःन ताला लगाएका थिए । त्यसक्रममा वडा नम्बर ८ का अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले पत्रकार र प्रहरीमाथि नै हातपात गरेका थिए ।

समन्वय इकाईमा पनि ताला, प्रहरीद्धारा खोलियो

नेपाली काङ्ग्रेसनिकट केहि भातृ संगठनहरुले जिल्ला शिक्षा तथा समन्वय इकाईको कार्यालयमा पनि शुक्रबार दिउँसो तालाबन्दी गरेका छन् । नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् । केहि बेरपछि प्रहरीले ताला खुलाएको छ । तर ताला लगाउनेहरुलाई भने प्रहरीले नियन्त्रयणमा लिएको थियो ।

ताला लगाएर फर्किदै गर्दा तारा पौडेल, निर्मला के.सी., धर्म पाण्डे, कृष्ण पाण्डे, राम पन्थी, सन्तोष थापा र सुनिल खनाललाई प्रहरीले अढाई घण्टा नियन्त्रणमा लिएको थियो । कार्यक्रता प्रहरीले पक्राउ गरेको भन्दै काङ्ग्रेसले प्रशासन कार्यालय अगाडी प्रहरी दमनको विरुद्धमा नाराबाजि गरेको थियो । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसँग काङ्ग्रेस प्रतिनिधिहरुले वार्ता गरेपछि पक्राउ परेकाहरु विनासर्त रिहा भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

फेरीए केन्द्राध्यक्ष

महेन्द्र नमुना माविमा आइतबार हुने कक्षा १२ को ग्रेडबृद्धिमा केन्द्राध्यक्षको विषयले उग्र रुप लिन थालेपछि केन्द्राध्यक्ष फेरिएको छ । केन्द्राध्यक्षमा थापा र ज्ञवाली कोहि पनि नभई अर्का शिक्षक कृष्ण प्रसाद मरासिनी तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी र काङ्ग्रेसबिचको वार्तामा सो परिक्षाको सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।

राजनीतिक चपेटामा महेन्द्र नमुना मावि

पछिल्लो समय रेसुगां नगरपालिकासँगै महेन्द्र नमुना माध्यमिक विद्यालय पनि राजनीतिक चपेटामा परेको छ । विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरु नै आ–आफ्नो पार्टीको निर्देशनमा चल्न थालेपछि विद्यालय राजनीतिक चपेटामा परेको हो । रेसुगां नगरपालिका १ स्थित महेन्द्र नमुना माविमा गत साउन ९ गते विद्यालय व्यवस्थापन समितिको वैठकले शिक्षक युवराज ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउने निर्णय गरेको थियो ।

वैठकमा पनि काङ्ग्रेस निकट सदस्यले एकलौटी ढङ्गले प्रअ केशर बहादुर थापा विदामा भएको बेला ज्ञवालीलाई प्रअ बनाउने निर्णय गरेका थिए । अल्पमतमा रहेर निर्णय गरिएको तथा काङ्ग्रेसनिकट शिक्षकलाई प्रअमा नियुक्त गरिएको भन्दै कम्युनिष्ट निकट व्यवस्थापन समितिका दुईजना सदस्यले नगरपालिकामा उजुरी दिएका थिए । उक्त उजुरीमाथि छलफल गर्दै नगरपालिकाले प्रध्यानाध्यापकमा थापालाई नै प्रध्यानाध्यापकमा पुर्नवाहली गराउने पत्र पठाएसँगै रेसुगां नगरपालिका र महेन्द्र नमुना माविमा विवाद चुलिएको हो ।

प्र.अ. कक्ष बन्द

महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रध्यानाध्यापक कक्ष भने बन्द रहेको छ । व्यवस्थापन समितिद्धारा नियुक्त गरिएका प्रध्यानाध्यापक युवराज ज्ञवालीसँग सो कार्यकक्षको साचोँ रहेको छ । उनले आफु भित्र जाने काम पर्दा प्रध्यानाध्यापकको कक्ष खोल्ने र आफु कक्षामा पढाउन जाँदासमेत ढोकामा ताल्चा लगाएर जाने गरेको एक स्रोतले जनाएको छ । यससम्बन्धमा प्रध्यानाध्यापक ज्ञवालीले यसभन्दा पहिलेका प्रध्यानाध्यापकहरुले पनि यस्तै गरेकोले आफुले त्यहि सिको गरेको प्रतिक्रिया दिएका छन् ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार