प्यारो डायल दाइ र पत्रकारिता - Butwal Online
प्यारो डायल दाइ र पत्रकारिता

विष्णु घिमिरे
बुटवल । मेरो दैनिक भेट हुन्थ्यो, दैनिक तीन चार पटक फोनमा कुरा हुन्थ्यो, भेट नभएको दिन निकै कम थिए र फोन नभएका दिन पनि निकै कम थिए , जब मसँग डायल दाइ (डायलसन अधिकारी) को चिनजान राम्रोसँग भयो ।



हुन त डायल दाइसँग पत्रकारिताका दौरानमा दुई दशक अगाडि नै भेटघाट भएको थियो । तर डायल दाइसँगको सम्बन्ध त्यसको केही वर्षपछि दह्रो भएको हो ।

मेरो मामा घर अर्घाखाँचीको केरुङ्गा गाउँडाँडा गएको बेला माईजुसँग कुरा गर्नेक्रममा डायल दाई माइजुको बैनीको छोरा भन्ने थाहा भयो । माइजुले डायलसनले के गरेको छ ? कस्तो छ भनेर धेरै सोधखोज गर्नुभएको थियो । मेरो मामा घरमा मामा हुनुहुन्न । म नजन्मदै मामा बेपत्ता हुनुभएको अझै फर्किनु भएको छैन ।

मामा काशिराम न्यौपाने राजनीतिमा चासो राख्ने , कम्युनिष्टका नेताहरु घरमा जाने बस्ने गर्ने र पञ्चायती शासन दलहरुप्रति कठोर भएको अवस्थामा मामा बेपत्ता हुनुभएको माइजुले मलाई बताउने गर्नुहुन्छ । माइजुले जब डायल दाइका बारेमा पहिलो पटक कुरा गरेपछि मैले फर्केर बुटवल आएपछि सबै कुरा डायल दाईलाई बताए ।

माइजुसँग जतिपटक कुरा हुन्थ्यो । डायलसनका बारेमा सोध्न कहिल्यै छुटाउनु भएन । भेटमा होस् वा फोनमा माइजुले डायल दाइलाई सोध्न कहिल्यै छुटाउनुहुन्थेन । डायलदाइ परिवारको एउटा मात्रै सन्तान भएकाले पनि सबैले सानैदेखि माया गर्थे । तर पछि भने डायल दाइका काम, मिलनसारदेखि विभिन्न गुणले गर्दा सबैका प्यारा भएका थिए । समाजका आँखाका नानी भएका थिए ।

म काम गर्ने पत्रिकाबाट स्नातक विशेषका बारेमा एउटा समाचार पठाउन भनेर केही दिन अगाडि भवानीश्वर गौतम सरले खबर गर्नुभएको थियो । साउन ३१ गते मैले बनाउन शुरु गरे ।

स्नातक विशेषको समाचार बनाउने क्रममा सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख बावुराम पाण्डेको पनि भनाइ कोण गर्न आवश्यक मैले ठाने । मोवाइमा नम्बर खोजे डिलिट भएछ की भेटाइन । बिहान करिब साढे १० बजेको समयमा हो । त्यस दिन डायल दाइसँग मेरो कुरा भएको थिएन ।

मैले तत्काल डायल दाइलाई फोन गरे । पहिला फोन लागेन पछि लाग्यो । डायल दाइले फोन उठाएपछि भने, के हो डायल दाइ फोन नै लाग्दैन कता हुनुहुन्छ र ? डायल दाइले म त तिलोत्तमाको लगानी सम्मेलनको तयारीका क्रममा पूर्वतर्फ लागे, अघि जंगलमा भएर होला फोनले नटिपेको भन्ने जवाफ दिनुभयो ।

मैले भने –‘तिलोत्तमाको कार्यक्रम त तपाईंले छुटाउँदै छुटाउनु हुन्न । पूर्व त नगएको भए पनि त हुने हो ।’ उहाँले भन्नुभयो–‘ जाम भन्ने कुरा आयो म त हिंडे ।’ उहाँले आफू बाटोमा भए पनि यता केही घट्ना वा समाचार भए खबर गर्न भन्नुभयो । मैले यही यात्रामा पनि अनलाईनमा राखिहाल्छु खबर गर्नुहोला है –उहाँले भन्नुभयो, मैले हुन्छ भने ।

त्यस्तै स्नातक विशेषको समाचार बनाउन लागेको बताए र बावुराम पाण्डे दाईको नम्बर पनि मागे । पाण्डे डायल दाईको भान्जा दाइ भएकोले बढी हेलमेल गर्नुहुन्थ्यो । सो दिन समाचार बनाउने क्रममा तीन चार पटक मेरो कुरा भयो ।

डायल दाइ पछिल्ला वर्षहरुमा स्थानीय एक सञ्चार माध्यममा काम गर्ने क्रममा गरेको मिहिनेत, पसिनाको सम्मान नभएको कुरा मलाई राख्दै आउनुभएको थियो ।

त्यहाँका सञ्चालक तथा लगानीकर्ताहरुले पसिनाको सम्मान नगरेको र बेवास्ता गरेपछि उहाँले अनलाईन चलाउने निश्चित गर्नुभएको हो । अर्काको मिडियामा धेरै लगानी गरियो ।

जति खट्दा पनि समस्या पर्दा वास्ता गरेनन् भन्ने उहाँको गुनासो थियो । काम जति पनि कजाउने तर समस्याहरुप्रति बेवास्ता गरेको भन्दै उहाँले अनलाइन शुरु गर्नुभयो । छोटो समयमा अनलाइनलाई निकै माथि पु¥याउनु भयो । ठाउँको ठाउँ अपडेट गर्नुपर्छ भन्ने डायल दाइ संसदमा बैठक चलिरहेकै बखत तत्काल अपडेट गर्नुहुन्थ्यो ।

मन्त्रिपरिषद् बैठक बसेका बेला तत्काल अपडेट गर्नुहुन्थ्यो । कुनै पनि घटना वा समाचार सबैभन्दा पहिला मैले अपडेट गर्नुपर्छ भन्ने मान्यता उहाँले राख्नुहुन्थ्यो । मन्त्रिपरिषद् बैठक पछिको पत्रकार सम्मेलनमा उहाँ सधै सहभागी हुने गर्नुहुन्थ्यो । अर्कोतर्फ तिलोत्तमाका कुनै पनि कार्यक्रम छुटाउनुहुन्नथ्यो ।

समाचार पनि छुटाउनुहुन्न भन्ने मान्यता उहाँको थियो । नगरपालिकाका कुनैपनि कार्यक्रम उहाँले छुटाउनुहुन्थेन । उहाँले अनलाइन शुरु गरेपछि राजनीतिक रंग कतै देख्न सकिंदैन थियो । कुनै पक्षले लगानी गरेको मिडियामा काम गरेको अनुभवले पनि होला उहाँले अनलाइन शुरु गरेपछि राजनीतिक रंग कतै देखिदैन थियो । अर्कोतर्फ उहाँले राजनीति पूर्वाग्रह भन्ने केही थिएन ।

उहाँ कुन दल निकटको हो भन्नेसम्म मेसो नपाउने स्थिति पछिल्ला महिनाहरुमा थिए । उहाँले मसँगका कुराकानीमा पनि राजनीतिभन्दा व्यवसायिक पत्रकारितामा बढी जोड दिनुहुन्थ्यो ।
आफ्नै लगानीमा अनलाईन सञ्चालन गर्दै आउनुभएका डायल दाइ अनलाईन व्यवस्थित गर्न बुटवलमा कार्यालय राख्ने बताउँदै आउनुभएको थियो । दुई भाइ मिलेर काम गर्ने कुरा राख्नुभएको थियो ।

मैले म कार्यरत नयाँ पत्रिकाको कार्यालय सारेपछि ४ वटा कोठा लिएको भनेको थिए । उहाँले एउटा कोठा राखिदिन भन्नुभएको थियो । पछिल्लो फोन संवादमा पनि उहाँले सो कुरा राख्नुभयो । मैले कोठाको चिन्ता नलिनुस घुमेर आउनुस भनेको थिए ।

मेरो घरपरिवारसँग पनि घुलमिल हुनुभएको थियो । आमाले सोधिरहने आमासँग भेटमा घरायसी कुरा गर्ने गर्नुहुन्थ्यो । त्यस्तै मेरो जीवनसंगिनी कमलासँग, छोरा विकल्पसँग पनि उहाँको घुलमेल राम्रौ थियो । कमलाको माइती गाउँको डायल दाइले सोधखोज गरिरहनुहुन्थ्यो । बैनीलाई लिएर घरतीर आउनुस न भन्ने गर्नुहुन्थ्यो ।

दुर्घटनाको दिन म टाउको दुखेका कारण मोवाइल पनि हेरेको थिइन । एक्कासी मित्र विक्रम खड्काले फोन गरेर दुर्घटनाको हल्ला के हो भनेपछि म झस्याङ भए । तुरुन्तै डायल दाइसँग यात्रामा गएका मित्र लक्षण पौडेललाई फोन गरे । उनी हस्याङ फस्याङ गर्दै घट्ना भयो यस्तो दुःखद खबर भयो । म अरु भन्न सक्दिन भने । मलाई धेरै पीडा भयो । सँगै रहेकी जीवनसाथी कमलालाई भने । उनी निकै चिन्तित भइन । त्यसपछि मेरा मोवाइलमा धेरै फोन बज्न थाले ।

मेरा दाजुहरुले फोन गरेर घट्नाबारे सोध्नुभयो । घरमा जान पनि भन्नुभयो । डायल दाइका बारेमा सोधखोज धेरैले गरे । केहीले डायलसन, लक्ष्मण सँग मिल्ने विष्णु घिमिरे पनि हो यो पनि गएको हुनुपर्छ कतै दुर्घटनामा त परेन भनेर पनि फोन गर्नेहरु पनि पाए । धेरैका फोन उठाएपछि पत्रकार साथीहरुको टोली घरमा जाने कुरा भयो ।

हामी गयौं । म भरत केसीसँग गए । अरु धेरै साथीहरु जानुभयो । डायल दाईको घरमा गएपछि डायल दाइको जीवनसंगिनी चन्दा भाउजु, ती छोराछोरीको अवस्था देख्दा निकै आंशु आए । सानासाना कुरादेखि विभिन्न विषयमा दैनिक छलफल गर्ने मेरो साथी डायल दाइ रहनुभएनभन्दा निकै पीडा भयो ।
मन समाल्न पनि निकै गाह्रो भयो । कालो चश्मा गोजीमा थियो त्यहीं लगाए । किनकी आँखाबाट आंशु रोकिएन । त्यसपछि डायल दाइको शव घर ल्याउन प्रहरीमा निवेदन दिनेदेखि विभिन्न प्रक्रियामा सहभागी हुन प्रहरी कार्यालयमा पुगे । उता लक्ष्मणसँग कुरा भइरहेका थिए । दिनभर यता उता गर्दै बिते ।

साँझ कोठामा आएपछि काठमाडौंबाट पत्रकार मित्र मुकेश पोखरेलले फोन गरे । घट्नाका बारेमा कुरा भए । डायलसनको घरपरिवारका बारेमा कुरा भए ।

सबैको प्यारो मान्छे गुम्दा घर परिवारमा कति पीडा भए होलादेखि विभिन्न कुरा भए । घरपरिवारका लागि आगामी दिनमा के गर्ने भन्ने कुरा पनि भए । हामीबीच तिलोत्तमा नगरपालिकाले तत्काल तीन वटा काम गर्नुपर्छ भन्ने कुरा भयो । र यसका लागि पत्रकार महासंघमार्फत पत्रकारहरुले कुरा गर्नुपर्छ भन्ने कुरा भयो ।

ती तीन कुरामा डायल दाईका नाममा कोष खडा गर्ने, छोरा छोरीको पढाइको जिम्मा लिने तथा डायल दाईको श्रीमतीलाई नगरपालिकामै रोजगारीको ज्ञारेन्टी गर्ने र तत्काल आर्थिक सहयोग गर्ने । यी यस्तै कुरा भए । त्यस दिन मैले माइजुलाई फोन गर्न सकिन खबर दिन सकिन । तर साँझ मावलबाट दाई उमाकान्त न्यौपानेले फोन गर्नुभयो, भाइ समाचारमा सुने मनले मानेन म भोलि बिहानै हिंड्छु म आउँछु भन्नुभयो ।

अर्को दिन बिहानैदेखि डायल दाइको घरमा भिड बढ्दो थियो । डायल दाइलाई ल्याउने तयारी थियो । पत्रकारदेखि धेरै क्षेत्रका व्यक्तित्वहरुको धेरै ठूलो संख्यामा उपस्थित भएको थियो । त्यसदिन पनि डायलदाइको घरपरिवारमा ती साना छोराछोरीको अवस्था भाउजु चन्दाको अवस्था देख्दा मन भक्कानियो ।

आँखाबाट बररर आंशु आए । म पछाडि हटे । केही पत्रकार साथीहरुले मलाई कुर्चीमा बस्न भने । केहीबेर कुर्चीमा बसे । निकै आंशु खसे । केहीबेरपछि गोजीबाट कालो चश्मा लगाएर त्यहाँबाट उभिए । डायल दाइप्रति मौन धारण गरियो । त्यसपछि अन्तिम विदाईका लागि प्रस्थान गरियो । घाटमा डायलदाइकै बारेमा कुरा भए ।

बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले तपाईंसँग नछुट्टिने डायलसन आजसँगै नेदेख्दा साह्रै अप्ठारो हुने रहेछ , भन्दै डायल दाइकै बारेमा कुरा गर्नुभयो । त्यस्तै कुरा धेरैले गर्नुभयो । अन्तिम विदाईका लागि धेरै क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । डायल दाइ व्यवसायिक पत्रकार, इमान्दार पत्रकार, पार्टी पत्रकारिताबाट माथि उठेको पत्रकार भएकाले पनि धेरै क्षेत्रको सहभागिता रहेको थियो ।

त्यस्तो व्यक्तिलाई सबैभन्दा ठूलो सम्मान पत्रकार महासंघले प्रदान गर्नेभन्दा अर्को हुनै सक्दैनथ्यो । मैले महासंघका साथीहरुलाई अन्तिम सम्मान दिनका लागि सुझाव पनि दिएको थिए । नभन्दै तयारी पनि रहेछ । महासंघ भनेको सबै पत्रकारहरुको साझा संस्था भएकाले त्यहाँ दल विशेषभन्दा महासंघ कति हो कति ठूलो भन्ने हेक्का राख्न केहीलाई सुझाव पनि दिएको थिए । महासंघले अन्तिम सम्मान र विदाई पछि डायल दाइलाई विदाई गरियो । आँखाले जे नदेख्नुपथ्यो त्यहाँ त्यही देख्नुप¥यो ।

नाबालक छोराले बाबालाई विदाइ गरेको दृष्य अहिले सम्झदा पनि आंशु आउँछन् त्यस्तो देख्नुप¥यो । त्यस्तै भाउजुको अवस्था, छोरीको अवस्था तथा बाबाको अवस्था ती दृष्यले निकै मन भारी भयो । अन्तिम विदाईमा मावलबाट दाइ पनि आइपुग्नुभयो । डायल दाइका थुप्रै आफन्तजन आउनुभएको थियो ।

अघिल्लो दिन मुकेशजी र मैले कुरा गरेको कुरा नगरपालिकाले तत्कालै सम्बोधन भएको पायौं । अन्तिम विदाईका क्रममा नगरप्रमुख बासुदेव घिमिरेले तीनै कुरा सम्बोधन गर्नुभयो ।
डायल दाइलाई विदाई गरेको तीन साता हुन थालेको छ । डायल दाइलाई विदाई गरेपछि घरमा जाँदाका दृष्यले धेरैलाई रुवायो । ती भाउजु जसले जीवनसाथी गुमाउनुप¥यो ।

ती साना साना छोरा छोरीले सानै उमेरमा बाबा गुमाउनुप¥यो । उनीहरुलाई देख्दा धेरैको मन रोयो । छोरा त्यति सानो भएर पनि धेरै बुद्धिमान रहेको पाए । यी शब्दहरु कोर्दा समेत आंशु रोक्न सकिन । जति घरतीरको दृष्य सम्झन्छु उति मन भक्कानिदो रहेछ । महासंघले घरमा गरेको श्रद्धाञ्जली कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले आंशु रोक्न सकेनन् ।

उनले आंशु बगाउँदा धेरैका आंशु आए । हामीलाई यती पीडा भएको छ भने ती जीवनसंगिनी भाउजु चन्दा, ती साना–साना छोराछोरी, ती वृद्ध बाबाको कति मन रोए कति पीडा भए होला भन्ने हुन्छ र मन निकै ग्रहुंगो हुन्छ ।

तर के गर्ने समाज परिस्थिति यर्थाथता सबै हेरेर सम्झेर चित्त बुझाउनु पर्ने रहेछ । भाउजुले मन दह्रो बनाएर अगाडि बढ्नुस । सबैका प्यारा डायल दाइ अब हामी माझ नभएपनि हामी सबैले डायल दाइलाई सम्झेर भाउजु छोराछोरीको हितमा सक्दो सहयोग गर्नुपर्दछ । घरपरिवारको दुःखमा साथ दिनुपर्दछ ।

पत्रकारदेखि हरेक क्षेत्रले सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ । डायल दाइले विगतमा पसिना बगाएका ठाउँहरुकाले समयमै महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ ।

अन्तिममा डायलदाइले छाड्नु भयो भन्ने खबर पाएको दिन दिनभरी एक शब्द कोर्न सकिन राति अबेर मात्रै डायल दाइप्रति श्रद्धाञ्जलीका शब्द कोरे । आजका यी शब्दहरु पनि धेरै दिनपछि मात्रै कोरे । केही दिन मेरो स्वास्थ्यले पनि साथ नदिएकाले कोर्न सकिन, केही दिन डायल दाइको दुःखद निधनको पीडाले गर्दा पनि ।

यो बीचमा अर्जुन ज्ञवाली दाइका शब्दहरु, शेरबहादुर केसी सरका शब्दहरु डायल दाइप्रतिका सम्मानका शब्दहरुदेखि विभिन्न क्षेत्रका व्यक्तित्वहरुले व्यक्त गरेका ती शब्दहरु डायल दाइप्रतिका उच्च सम्मानका रहे । डायल दाइ हामी माझ हुनुहुन्न भनेपछि जतिबेला पनि मनमा डायल दाइको सम्झना भइरहेको छ ।

कतै डायल दाइले फोन गर्छन् की जस्तै लाग्छ । त्यस्तै डायल दाइ मेरो कार्यालयमा आइहाल्छन् की जस्तै लाग्छ । डायल दाइ दुर्घटनामा पर्नुभन्दा केही दिन अगाडि दैनिक कार्यालयमा आउनु भएको थियो । म कार्यालयमा नभएको बेला कार्यालयमा आई फोन गरेको भर्खरै जस्तो लाग्छ । डायल दाइसँगका स्मरणहरु कोर्ने हो भने पुस्तक नै तयार हुन्छ । पत्रकारितामा सक्रिय रहनेहरुले डायल दाइको इमानको पत्रकारितालाई आत्मसाथ गर्न सकौं ।

कहिल्यै नरिसाउने, कहिल्यै पनि कुनै पनि काममा म आज सक्दिन नभन्ने जतिबेला पनि खुशीसाथ प्रस्तुत हुने डायल दाइ तिमीप्रति हार्दिक श्रद्धाञ्जली । डायल दाइको घरपरिवारमा यस्तो दर्दनाक पीडामा पनि मुटु दह्रो बनाएर अगाडि बढ्ने शक्ति मिलोस् । यही मेरो कामना ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार