गाउँपालिकाद्धारा सडक मर्मत गर्न लेन्थवर्कर नियुक्त - Butwal Online

हुमाकान्त पोखरेल
गुल्मी, २३ भदौ । इस्मा गाउँपालिकाले गाउँपालिकाभित्रको स्थानीय सडक मर्मत गर्न ५० जना लेन्थवर्कर (सडक हेरालु) नियुक्त गरेको छ । बर्षातले क्षती पुराएका सडक संजाल नियमित रुपमा सुचारु गर्न लेन्थवर्कर नियुक्त गरिएको हो ।



गत बर्षका २० र यो बर्ष ३० गरी छनोट भएका ५० जना लेन्थवर्करले आइतबारदेखि सडक मर्मतको काम सुरु गर्ने बस्नेतले बताए । इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बिपन्न परिवारको जिबिकोपार्जनसंगै सडक नियमित बनाउने योजना अगाडी बढाएको बताए । गत बर्ष दशैमा मात्रै सडक मर्मत गर्दा गाउँपालिकाले २० लाख बढी खर्च गरेको थियो ।

ठुला मेसिनको प्रयोगले एउटा ब्यक्तिलाई मात्रै फाइदा हुने भएकाले लेन्थवर्करको संख्या बढाएको बिष्टले बताए । ‘लेन्थवर्कर मार्फत काम गर्दा बाटो र आटो दुवै चल्ने सोचेका छौै ।’ उनले भने, ‘गत बर्ष मेसिन प्रयोग गर्दा २० लाख खर्च भो, अहिले त्यो पैसा ५० परिवारसम्म पुग्ने छ ।’ उनले लेन्थवर्करको अवधि थप गरेर ठुला मेसिनको प्रयोगलाई निरुत्साहित गर्दै अधिकतम रोजगार सृजना गर्ने गरि सडक मर्मत गर्ने बताए ।

धेरै बिदेशबाट फर्किएका युवा 

गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई लेन्थ वर्करमा प्राथमिकता दिएको छ । जसअन्तरगत नियुक्त गरेका ५० जना लेन्थवर्करमा ५२ प्रतिशत बिदेशबाट फर्किएका छन् । भारतसंगै खाडी मुलुक मलेसिया, कतारमाबाट फर्किएका युवाहरुले गाउँपालिकामा आवेदन दिएका थिए ।

‘परिवारसंगै काम गर्ने अवसर पाएँ, म जस्तै थुप्रै युवाले परदेशको गुलाम गरेका छन् ।’ मलेसियाबाट फर्केका इस्मा गाउँपालिका ४ का इश्वर बिष्टले भने, ‘चाड पर्वको मुखमा ५० जनाको घरमा गाउँपालिकाले खुसी दिएकोे छ ।’ नियुक्ति लिएका ५० जनामा १४ जना महिला रहेका छन् । गाउँघरमा मेलापात वा अन्य कुनै काम गर्दा महिला र पुरुषको ज्यालामा विभेद गर्ने गरिन्छ । तर गाउँपालिकाले नियुक्त गरेका कामदारमा महिला र पुरुषको ज्याला पनि समान रहेको छ ।

पुरस्कार र दण्डको ब्यवस्था

गाउँपालिकाले लेन्थवर्करको लागि दण्ड र पुरस्कारको ब्यास्था गरेको छ । सडक मर्मतमा नियमित, अनुशासन र तोकिएको काम समयमै पूरा गर्ने लेन्थवर्करलाइ पुरस्कृत गरिने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

उनले गत बर्ष पनि तीन जनालाई पुरस्कृत गरिएको बताउँदै राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र ठग्ने तथा मदिरा सेवन गर्नेलाई कारबाही गर्ने गरि पदमुक्त गरिने जानकारी दिइन् । साथै लेन्थवर्कर कर्मचारी प्रति उत्तरदायी बनाइएको छ । जनप्रतिनिधीसंग भोटको धम्की दिएर काम नगर्ने प्रवृतिको अन्त्य गर्न अहिले सवै कामको व्यावस्थापन कर्मचारीले गर्ने खत्रीले बताइन् ।

पहिलो चरणमा तीन महिना

इस्मा गाउँपालिकाले पहिलो चरणमा तीन महिना लेन्थवर्कर भर्ना गरेको हो । सुरुमा मुख्य सडक र त्यसपछि शाखा सडक मर्मत गर्न अहिले लेन्थवर्करको सेवा अवधि तीन महिना बनाइएको गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले जानकारी दिए । तीन महिनापछि कामको प्रभावकारीता मुल्यांकलन गरेर थप निर्णय गरिने अधिकारीले बताए ।

एक जनाको लागि अहिले १३ हजार पाँच सय मासिक पारिश्रमीक तोकिएको छ । कामको प्रभावका आधारमा १० प्रतिशतसम्म पारिश्रमीक थप गरिने प्रवक्ता अधिकारीले बताए ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार