काम नगर्ने ठेकेदारलाई कार्बाही गर्न सांसदहरुको माग - Butwal Online

प्रकाश खनाल
बुटवल, २३ भदौ । प्रदेश नं ५ को प्रदेशसभामा प्रदेश र संघीय सरकारले समयमै काम नसक्ने ठेकेदारलाई कार्बाही गर्न प्रदेशसभा सदस्यहरुले माग गरेका छन् ।



सोमबार बसेको प्रदेशसभा बैठकको बिशेष समयमा बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले प्रदेश सरकारले समयमा काम नगर्ने ठेकेदारलाई कार्बाही गर्ने घोषणा गरे पनि कार्बाही नभएको भन्दै समयमा काम नगर्ने ठेकेदारलाई कार्बाही गर्न नसक्ने हो भने गणतन्त्र असफल हुनसक्ने चिन्चा व्यक्त गरे ।

प्रदेशसभा सदस्य तारा जिसीले प्युठानको मच्छी–गुल्मी सडकको ठेकेदारले पनि २० लाखको ठेक्का लिएर ४÷५ लाखको पनि काम नगरेको अवस्थामा उसको भुक्तानी नरोकिनुको कारण जानकारी गराउन माग गरिन् । ठेकेदारको लापरबाही बारे जानकारी गराउदा पनि न काम हुने न उसको भुक्तानी रोकियो भन्दै उनले ठेकेदारलाई कारबाही गर्न कसले रोक्यो भनि प्रश्न गरिन् ।

अर्का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले पनि प्रदेश र संघीय सरकारले ठेकेदारको लापरबाही रोक्ने प्रति कुनै चासो नदेखाएको बताए ।
गत आर्थिक बर्षको बजेटबाट डेढ करोडमा तटबन्धको ठेक्का लिएको एक ठेकेदारले कामै सुरु नगरी म्याद थपको प्रयास गरिरहेको भन्दै उनले त्यसबारे प्रदेश सरकारलाई जानकारी गराउदा समेत चासो नदेखाएको आरोप लगाए ।

प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रदेशसभाको बैठकमा आफु लगायत धेरै प्रदेशसभा सदस्यहरुले पटक÷पटक मलखादको अभावबारे कुरा उठाए पनि प्रदेश सरकारले संबोधन नगरेको भन्दै मलखादको समस्या समाधान हुन्छकी हुँदैन स्पष्ट जवाफ दिन माग गरे ।
डेंगुको संक्रमण भएर उपचाररत संघीय सरकारका कृषि मन्त्री काठमाण्डौंको महंगो अस्पतालमा उपचार गराएकोप्रति समाजमा नकारात्मक सन्देश गएको भन्दै प्रदेश सरकारका मन्त्री प्रदेशसभा सदस्य तथा सरकारी कर्मचारीहरुले सरकारी अस्पतालमै उपचार गर्ने व्यवस्था मिलाउन सुझाव दिए ।

उनले सरकारी अस्पतालको अवस्था सुधार गर्नुपने र सरकारका मन्त्री,सांसद तथा कर्मचारीहरुको उपचार सरकारी अस्पतालमै गर्ने व्यवस्था मिलाउन सके जनताले पनि सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने बताए । उपचार गर्न सके उनले माग संबोधन हुँदैन भने आफुहरुले प्रदेशसभामा आवाज नउठाउने बताए । प्रदेशसभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले कपिलबस्तु जिल्ला अस्पतालमा ५० शैयाको भौतिक संरचना निर्माण भएर पनि सञ्चालनमा नआएको भन्दै ५० शैयाको अस्पताल सञ्चालनको व्यवस्था मिलाउन माग गरे ।

अर्का प्रदेशसभा सदस्य पुष्पा थरुनीले बुटवलको तिनकुने हुँदै देबिनगर जोड्ने पुल निर्माणको काम अलपत्र परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले प्रदेश सरकार मातहतका सरकारी अस्पतालहरुको नेतृत्व रिटायर्ड कर्मचारीलाई दिने तयारी भएको सुन्नमा आएको भन्दै स्पतालको नेतृत्व राजनीतिक व्यक्तिबाट गर्नु उपयुक्त हुने धारणा राखे ।

सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथासंचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सोमबारकै बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन,२०७५ लाई संसोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु रमा अर्याल र कुल प्रसाद पोखरेलले सहभागिता जनाएका थिए ।
प्रदेशसभा बैठकमा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेल र सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशसभा बैठकमा बिभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार