पाल्पाको रानीमहललाई मा इकोपार्क बनाउने तयारी

                            –मन्त्री, सांसद र नेताहरुसहित पर्यटन मन्त्रीद्वारा विशेष अवलोकन

                                                 –प्रदेशकै पर्यटकीय केन्द्र बन्न सक्छ

बुटवल, मंसिर ७ । नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन इकोपार्क निर्माण गरिने भएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन लागिएको हो ।


यसका लागि प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेर नै प्रदेश सरकारले चासो बढाएको बताए ।
यसै वर्षभित्र पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पर्यटनमन्त्री गिरीले बताए । रानीमहललाई प्रदेश ५ कै प्रमुख पर्यटकीय स्थल बनाइने लक्ष्यअनुसार पहिलो चरणमा इको पार्क बनाउन लागिएको उनँको भनाइ छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई थप प्राथमिकता दिइने र रानीमहललाई लुम्बिनीपछिको आकर्षक पर्यटकीय गन्तव्य बनाउने तयारी रहेको मन्त्री गिरीले बताए ।
रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी, प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने एमएस, प्रदेश सांसद चेतनारायण आचार्य, सांसद नारायण आचार्य, सांसद बीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याललगायत स्याङ्जाका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरुको टोलीले स्थलगत अवलोकन गर्दै सम्भावनाका बारेमा अध्यय्न समेत गराएको छ ।
यहासम्म पुग्ने सडकलाई विस्तार र व्यवस्थित गर्न जरुरी देखिएको बताउँदै प्रदेश सरकारका प्रवक्ता चौधरीले सडककै अभावमा पर्यटकीय गन्तव्य ओझेल परेको उल्लेख गरे ।


पाल्पा सदरमुकाम तानसेनबाट करिब १४ किलोमिटर दूरीको सडकमध्ये ५ किलोमिटर पीच हुन बाँकी छ भने कालीगण्डकी कोरिडोरतर्फ ७ सय मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ । यस्तै रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पूरा भएको छैन । चट्टानलाई फुटाएर बाटो खुलेपछि र पुल निर्माण सकेपछि रानीमहलमा पर्यटक आगमनले फड्को मार्ने प्रदेश सरकारको दाबी छ ।
तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको इतिहासमा छ । यो पवित्र कालिगण्डकीको किनारमा रहेको विशाल पत्थरबाट ठड्याएर विशाल दरबार बनाइएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैंचा आदि रहेका छन् । ५६ फिट चौडाई, ११२ फिट उचाइ भएको चारतले भवन १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माण कार्य पूरा भएको थियो । महल जीर्ण भएपछि ०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा रानीमहलको पुननिर्माण गरेको थियो ।
पुनर्निर्माणपछि अहिले रानीमहल आकर्षक भएको छ । साविकको बौघागुम्बा गाविस वडा नं २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि उभिएको छ ।


रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।
यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको छ ।
पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करिब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ । १९६०मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य वस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको भनाइ छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । पछिल्ला केही वर्ष यता यहाँ आन्तरिक र बाह्य दुबै खालका पर्यटकहरुको आकर्षण बढेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology