भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी पन्देही सुपर लिग क्रिकेटमा बुटवल ११ क्रिकेट क्लब विजयी

भैरहवा, २८ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा मंगलबार भएको डिभिजन ‘ए’ को खेलमा प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवालाई ७३ रनले पारजित गर्दै बुटवल ११ क्रिकेट क्लब बुटवल विजयी भएको छ ।

टस जितेर ब्याटिङ गरेको बुटवल ११ ले निर्धारित ५० ओभरको खेलमा ३९.५ ओभरमा सबै विकेट गुमाई १ सय ५९ रनको योगफल बनाएको थियो । उसका लागि तौसिफ आलमले नटआउट ७६, इश्वर गुरुङले ३७ र अमित श्रेष्ठले १३ रन बनाए । बलिङमा प्रोफेसनलका सामोद पौडेलले ३, बले ठकुरीले २, शैलेष श्रीवास्तव र अमर लिम्बुले समान १÷१ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ६० रनको लक्ष्य पछ्याएको प्रोफेसनलले २१.२ ओभरमा सबै विकेट गुमाई जम्मा ८६ रन मात्रै बनायो । उसलाई सस्तैमा समेट्न बुटवल ११ का प्रकाश केसीले ४ विकेट लिए । यस्तै, कृष्ण सेनले ३, देवेन्द्र सोमरे, सुदन श्रेष्ठ र बिशाल भुसालले समान १÷१ विकेट लिए । ब्याटिङमा प्रोफेसनलका लागि अजय रसाइलीले २७ र आदित्य त्रिपाठीले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । खेलमा बुटवल ११ का तौसिफ आलम म्यान अफ दी म्याच घोषित भए । बुधबार भैरहवाका बुम एमसीसी क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology