Trending
युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरतामा सचेत बनाउन बुटवलमा कार्यक्रम - – बुटवल अनलाइन

बुटवल । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध र अनलाइन दुरुपयोगका घटना बढ्न थालेपछि युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरताबारे सचेत गराउने उद्देश्यले बुटवलमा कार्यक्रम आयोजना गरिएको छ ।


प्रदेश युवा परिषद विकास समितिको आयोजनामा बुधवार बुटवलमा आयोजित साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत डाटाको सुरक्षा तथा जिम्मेवार डिजिटल व्यवहारबारे जानकारी गराइएको थियो ।



कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल ले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको बताउनुभयो । उहाँले डिजिटल माध्यमले अवसरसँगै चुनौती पनि थपेकाले युवालाई समयमै सचेत र दक्ष बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो ।

प्रदेश युवा परिषद विकास समितिका सदस्य राधा बस्नेत ले युवालाई प्रविधिमैत्री बनाउँदै सुरक्षित डिजिटल अभ्यासतर्फ उन्मुख गराउन परिषदले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले साइबर सुरक्षाबारे जानकारी अभाव हुँदा धेरै युवाहरु अनलाइन ठगी, ह्याकिङ र दुरुपयोगको जोखिममा पर्ने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्याल बुटवलका प्रमुख निशान्त श्रीवास्तव ले साइबर अपराधका पछिल्ला प्रवृत्ति र त्यसबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो । त्यसैगरी सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका इन्जिनियर कुमार गुरुङ ले डिजिटल साक्षरता, सुरक्षित पासवर्ड प्रयोग, डेटा सुरक्षा तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो ।

नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्त दिनानाथ भट्टराई, प्रदेश युवा परिषद विकास समितिका अधिकृत प्रेमराज रावत तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले डिजिटल युगमा सूचना सुरक्षाको महत्वबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रम प्रदेश युवा परिषद विकास समितिकी कार्यकारी सदस्य राधा बस्नेत को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विष्णु घिमिरेले गर्नुभएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार