बुटवल सुनचाँदी व्यवसायी संघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा प्रभावित भएकाहरुलाई उद्दार, राहत तथा उपचारमा सहयोग पुगोस् भन्ने हेतुले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४ लाख ५२ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संघका अध्यक्ष गकुल विश्वकर्माले बिपदको यो घडीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै सोही अनुरुप बुटवलका सुनचाँदी व्यवसायीले पनि आर्थिक सहयोग गरेको बताएका छन् । उनले बुटवल सुनचाँदी व्यवसायी, महिला समाज र बुटवल गोल्ड मार्टले आर्थिक सहयोग गरेको बताएका छन् ।
बुटवल सुनचाँदी व्यवसायी संघका वरिष्ठ सल्लाहकार जोगलाल बिश्वकर्माले बाढीले देश नै रोइरहेको बेला सानो सहयोग भएपनि राहत पुगोस् भन्ने उदेश्यले व्यवसायीबाट रकम उठाएको बताएका छन् ।
बुटवल सुनचाँदी व्यवसायी संघ महिला समाजकि अध्यक्ष सरु खड्काले आफुहरुले हरितालिका तीजको अवसरमा दर खुवाउन छुट्टाएको रकम संकलन गरी डर खाने कार्यक्रम रोकेर बाढी प्रभावितहरुलाई सहयोग गरेको बताएकी छिन ।
संघका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर सुनारले बाढी पहिरोबाट समस्यामा परेकाहरुलाई धेरै जसो जिन्सी सामग्री सहयोग आइरहेको अवस्थामा संघले आर्थिक सहयोग गरेको बताएका छन् ।
कार्यक्रममा संघका सल्लाहकार सुरेशरत्न बज्राचार्य, हर्ष बहादुर बिश्वकर्मा, महिला समाजकि सल्लाहकार कमला विश्वकर्मा, बुटवल सुनचाँदी व्यवसायी संघका पदाधिकारी, सदस्य, महिला सदस्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन संघका सचिव चुरामणि विक (दीपक ) ले गरेका थिए । संस्थाले व्यवसायीको हकहित तथा सामाजिक सेवामा निरन्तर सहयोग गर्दै आइरहेको छ ।






