Trending
बुटवलमा असोज १६ देखि ३१ गतेसम्म रमाइलो बुटवल महोत्सव हुदै - – बुटवल अनलाइन

बुटवल । बुटवलमा असोज १६ देखि ३१ गतेसम्म रमाइलो बुटवल महोत्सव आयोजना हुने भएको छ । रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टको आयोजनामा बुटवल उपमहानगरपालिका वडा न ११ देवीनगर रंगशाला नजिकैको रहेको खुल्ला मैदानमा महोत्सव सञ्चालन हुने भएको हो ।



आयोजकले सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएको छ । स्थानीय व्यापार, कृषि उत्पादन, कला, संस्कृति तथा मनोरञ्जनलाई एउटै स्थलमा समेट्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टका प्रमुख पाल्देन घलानका अनुसार महोत्सवमा विभिन्न प्रकृतिका २५० भन्दा बढी स्टल रहनेछन् । तीमध्ये करिब २०० स्टल बुकिङ भइसकेका छन् । महोत्सवमा कृषिजन्य वस्तु तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई विशेष प्राथमिकता दिइने उनले बताए ।आयोजक संस्थाका अध्यक्ष विक्कल क्षेत्रीले बुटवलको व्यापारिक गतिविधिलाई चलायमान बनाउनु महोत्सवको प्रमुख उद्देश्य रहेको बताएका छन् । दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले मनोरञ्जनका विभिन्न आकर्षणसमेत समावेश गरिएको उनले जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षणका रूपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जिरो ग्राभिटी राइड’ सञ्चालन गरिने आयोजकको दाबी रहेको छ । यस्तै, बुटवलमा पहिलोपटक आठवटा ‘बिग बेन’ टावर राखिने तथा हट एयर बेलुनसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन् । कार्यक्रम संयोजक टेकबहादुर गुरुङका अनुसार बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपहप डान्स प्रतियोगिता र टिकटक प्रतियोगितालगायत कार्यक्रमसमेत आयोजना गरिनेछन् ।

प्रतियोगिताका विजेता छनोट गर्दा एसएमएस वा दर्शकको भोटिङ प्रणाली प्रयोग नगरिने आयोजकले जनाएको छ । निर्णायक मण्डलको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने संयोजक गुरुङले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार