बुटवल । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएका छन् । शनिबार रुपन्देही व्यापार संघको २५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आर्थिक गतिविधि विस्तार हुन नसक्दा उद्योगी–व्यवसायीको मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौँ चुनौतीको सामना गर्नुपरेको धारणा राखे ।

अध्यक्ष अग्रवालले जेनजी आन्दोलन पछि बनेको वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि अर्थतन्त्र चलायमान बनाउन आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरे । ‘सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले नीजि क्षेत्र निकै उत्साहित भएको थियो ।’, उनले भने, ‘सरकार गठन भएको ६ महिना पुग्यो तर, सरकारले व्यवसायीमैत्री वातावररण बनाउन नसक्दा मुलुकमा आर्थिक गतीविधि बढ्न सकेन्न् । अहिले उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा पुगेका छन् ।’
पछिल्लो समय बैंकको ब्याजदर घटेपनि सरकारका बिभिन्न नीति तथा कर प्रणालिमा बारम्बार हुने परिवर्तनका कारण उद्योगी व्यवसायीहरुले ढुक्क भएर लगानी गर्ने वातावरण नबनेको उनले बताए । ‘बैंकमा झण्डै १५ खर्ब रुपैयाँ जम्मा भएर थन्किएको छ । ब्याजदर घटेर सिंगल डिजिटमा झरेपनि अहिलेको अबस्थामा नयाँ परियोजनामा लगानी गर्न नीजि क्षेत्र तयार छैन ।’ उनले भने ।
अध्यक्ष अग्रवालले अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू सरकारको नीतिगत कारणले देखिएको दाबी गरे । विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरू अहिले पनि सरकारले परिवर्तन गर्न नसकेको उनले बताए । ‘सरकार र निजी क्षेत्रबिच सहकार्य जरुरी छ ।’ उनले भने,‘उद्योगी व्यवसायीसँग सम्बन्धित धेरै कानुन सम्सोधान गरी व्यवसायीको मनोबल बढाउन जरुरी छ ।’ उनले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औद्योगिक क्षेत्रमा सुधार हुने बताए ।
सीमावर्ती व्यापारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन जरुरी रहेको उनले बताए । ‘करका दर घटाएर सीमावर्ती व्यापारलाई निरुसाहित गर्न जरुरी छ ।’ उनले भने । बदलिदो समयसँगै उद्योग व्यवसाय सञ्चालनका लागि बजारमुखी रणनीति अपनाउन जरुरी रहेको उनले बताए । ‘उद्योगहरूबाट उत्पादन भएका वस्तुहरूको ब्रान्डिङ र बजारीकरण प्रमुख प्राथमिकता दिनुपर्छ । उत्पादनको बलियो ब्रान्ड स्थापना गरी आक्रामक र आधुनिक बजारीकरण रणनीति डिजिटल मार्केटिङसहित अनलाईन व्यापारमा पनि जोडिनुपर्छ ।’ उनले भने ।
अध्यक्ष अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन नहुँदासम्म यस क्षेत्रका व्यवसाय चलायमान हुन नसक्ने धारणा राखे । लुम्बिनी प्रदेशबाट अबौँ मुल्यका विभिन्न उत्पादन बिदेश निर्यात गर्नसक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकारले उपयुक्त वातावरण तयार गर्नुपर्नेमा जोड दिए । बुटवल–भैरहवालाई एकीकृत आर्थिक तथा व्यापारिक करिडोर बनाउनुपर्नेमा उनले जोड दिए ।
संघका अध्यक्ष प्रकाश ढकालले कोरोना महामारी र जेनजी आन्दोलनपछि उद्योगी–व्यवसायीले थप चुनौतीको सामना गर्नुपरेको बताए । बजारको सुस्तता, लगानीको असुरक्षा, उच्च भाडादर, दोहोरो कर, अस्थिर बैंक व्याजदर, खुला सीमाना तथा मुख्य बजार क्षेत्रमा सवारी पार्किङको समस्यालगायतका विभिन्न अवरोधले व्यवसायिक गतिविधि प्रभावित भइरहेको उनले बताए । अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल उच्च हुँदा मात्र मुलुकमा रोजगारी सिर्जना, राजस्व तथा देशको दिगो विकासमा टेवा पुग्ने दावी गरे । खुला सीमा क्षेत्रबाट हुने अवैध कारोबारले यस क्षेत्रका व्यवसायी पीडित भएको बताउँदै उद्योगी व्यवसायिमैत्री नीति लागु गर्न उनले आग्रह गरे ।
देशमा लगानीको वातावरण निर्माण हुन नसके अर्थतन्त्र झन् जटिल बन्ने खतरा रहेको बताउँदै उनले सरकारले निजी क्षेत्रको मनोबल बढाउन नीतिगत स्थिरता, लगानीमैत्री वातावरण तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तत्काल सम्बोधन गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । उनले व्यापारिक गतिविधि सहज बनाउन सरकारले पूर्वाधार र आपूर्ति प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य सडक अबरुद्ध हुँदा चाडपर्वको मुखमा अर्बौँ रुपैयाँ बराबरका सामान बाटोमै रोकिएको उल्लेख गर्दै अध्यक्ष ढकालले अबरुद्ध सडक सञ्चालनका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सरकारले व्यवसायीमैत्री वातावरण तयार गर्नुपर्ने धारणा राखिन् । स्थानीय सरकार सधैं व्यवसायीहरुको साथमा रहेको बताउँदै उनले उद्योगी व्यवसायिका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले बुटवल उपमहानगर र व्यापार संघ व्यवसायिक हितका लागि एक भएर अगाडि बढ्ने पनि बताइन् ।
संघका पूर्वअध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले पछिल्लो समय उद्योगी–व्यवसायीमा बढ्दै गएको निराशा चिर्न आवश्यक रहेको बताए । सरकारले लगानी र व्यवसायको सुरक्षाको ग्यारेन्टी नगरेसम्म लगानीको वातावरण बन्न नसक्ने उनको भनाइ थियो । व्यवसायीको हकहित संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि निजी क्षेत्रको नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पोखरेलले जोड दिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सुमानाकाबाट अवैध रुपमा कर छलिका सामान भित्रिँदा यहाँका उद्योगी व्यवसायी वर्षौँदेखि समस्यामा रहेको गुनासो गरे । भन्सारमा करको दर नघट्दासम्म यहाँका उद्योगी व्यवसायीले भारतिय सिमावर्ती क्षेत्रका व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखे ।
संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डेले संघको हितविपरीत कुनै गतिविधि हुन नदिन सबैजना एकजुट हुनुपर्ने धारणा राखे । नियमसंगत दर्ता गरी वार्षिक रुपमा कर तिरेर रोजगारी सिर्जना गरेको नीजि क्षेत्रलाई सरकारले विभिन्न बाहानामा आतंकित पार्न नहुने उनले बताए । उनले संघलाई यहाँसम्म ल्याइपु¥याउन सबैको भूमिका रहेको र पूर्व अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिबद्ध रहने पनि बताए । कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका व्यवसायीले गरेको करोडौँ रुपैयाँ लगानी जोखिममा परेको बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले स्थानीय सरकारले उद्योगी–व्यवसायीलाई संरक्षण र सहजीकरण गर्नुपर्नेमा विभिन्न बहानामा आतंकित पार्ने काम गरेको बताए । यस्तै, संघका महासचिव प्रकाशराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले गरेका विभिन्न कार्यक्रमहरु र आगामी योजनाबारे जानकारी गराए । उनका अनुसार हाल संघमा २ हजार ६ सय बढी व्यवसायी आबद्ध रहेका छन् । यस्तै संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेलगायतले बोल्दै बदलिदो समयसँगै नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्नुपर्नेमा जोड दिँदै संस्थागत सुशासन र व्यवसायिक वातावरण निमार्णका लागि सबैजना एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
सोही अवसरमा अवसरमा संघलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरीएको थियो । यस्तै संघले जिल्लामा सुरक्षा प्रबन्ध गर्ने नयाँ अभियानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई १ लाख १३ हजार रुपैयाँ र संघको साधारण सदस्य लुम्बिनी पुस्तक पसलमा आगलागी भई क्षति पुगेकोले व्यवसायी कल्याणकोषबाट २५ हजार रुपैयाँ हस्तान्तरण गरीएको थियो ।






