स्वस्तिक श्रेष्ठ
बुटवल, १३ फागुन । देशमा घट्दो जनसंख्या नीजि शिक्षालयहरुलाई चुनौती र अवसरका रुपमा रहेको उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ नेपाल (हिसान) का केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले दाबी गरेका छन।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सिलवालले मुख्य चुनौतीका रुपमा जनसंख्या घट्नु रहेको भन्दै यसलाई अवसरका रुपमा पनि लिन सकिने बताए । जनसंख्या कम हुदा अभिभावक राम्रो शिक्षा दिन चाहने र त्यसमा नीजि शिक्षालयहरुलाई अवसर बन्ने उनले बताए ।
नेपाल पहिला भन्ने भावना हरेकबाट शुरु गर्नुपर्ने उनले बताए । ‘नेपालमा केहि छैन भन्ने भाष्य चिर्न जरुरी छ ।’–उनले भने । सामाजिक संजालहरुमा केहि समुह नै नकारात्मक विषय बिक्ने नाममा निरन्तर प्रचारमा लागेको भन्दै उनले यो गलत भएको बताए । सामाजिक संजाल त समुदायका राम्रो विषयलाई ल्याउनुपर्ने उनले सुझाव दिए । नेपालको शैक्षिक अवस्थामा अवसर र चुनौतीहरु रहेको उनले बताए । शैक्षिक विकाससंगै देशका हरेक क्षेत्रमा विकास भएको उदाहरण दिदै उनले देशका शासकहरुको सोचमा परिवर्तन आउन नसकेको दाबी गरे । ‘राम्रा र ठुलो विद्यालय कसरी निर्माण गर्ने भन्ने मुख्य चुनौती छ ।’–उनले भने ।
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले हिसानबाट हरेक शैक्षिक गतिविधिमा सहयोग मिलेको स्मरण गर्दै संस्थागत रुपमा नङमासुको आत्मिय सम्बन्ध रहेको बताए । हिसानबाट कठिन समयमा निजि सम्पति लगाएर गुणस्तरिय शिक्षा दिएर विदेश जाने युवा रोक्न निरन्तर लागेको उनले बताए । हिसान र प्याब्सनको आआफ्नो भुमिका रहेको भन्दै शैक्षिक र संस्थागत विकास र संगठनको विकासमा एकतावद्घ भएर जानुपर्ने सुझाव दिए । शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्ने बेला आएको उनले बताए । शिक्षालाई सिप, संस्कार, ब्यवहारिक रुपमा लागुहुने गरि जोड्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्माले नेपालमा शैक्षिक संस्थाहरुको हकहितमा लाग्न सुझाव दिए । बागमतिका केही विश्वविधालयहरु निति बनाउने काममा लागेको उनले बताउदै यो आजको आवश्यकता भएको बताए।पाठ्यक्रम निर्माण गर्न सक्ने, पुर्वाधार विकास गर्न सक्ने विश्वविधालयबाट आवश्यक पहलमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हिसानबाट वर्षभरि गरेको कामबारे प्रकाश पारे ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सचिव बाबुराम बन्जाडेले गुणस्तरिय शिक्षामा नीजि शिक्षालयहरुको योगदान र चुनौती बारे बताए । कार्यक्रममा हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुरक्षेत्री, दामोदर शर्मा, प्रो रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायसहित सिगो जिल्ला कार्यसमितिलाई सम्मान गरिएको थियो ।






