Trending
६० परिवारको मुहारमा दसैँको खुसी बाँड्दै बुटवलका युवा - – बुटवल अनलाइन

बुटवल । कसैका घरमा मिठा परिकार पाक्ने तयारी भइरहँदा, कसैलाई भने बिहान खाए बेलुका के खाने भन्ने चिन्ताले सताइरहेको छ । यस्तै अभाव र पीडामा बाँचिरहेका परिवारको आँगनमा दसैँको खुसी बाँड्न खाद्यान्न बोकेर पुगेका छन्, बुटवलका समाजसेवी युवाहरु ।



दसैँ नजिकिँदै छ । बजारमा किनमेल गर्नेको भीड बढेको छ । घरघरमा मिठा परिकार पकाउने तयारी हुँदै छ । नयाँ लुगा लगाउने, परिवारसँग बसेर मीठोमसिनो खाने र खुसी साटासाट गर्ने योजना बनिरहेका छन् ।

तर, यही दसैँ कसैका लागि खुसी र उमङ्ग बोकेर आउँदै गर्दा कसैका लागि भने बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता बनेर आइरहेको छ ।

कसैको घरमा दसैँका लागि खसी किन्ने तयारी हुँदै छ, त कसैको घरमा भात पकाउन चामलसमेत छैन । कसैका लागि दसैँ नयाँ लुगा र मिठा परिकारको पर्व हो, त कसैका लागि अरूको घरमा पाकेको खाना हेरेर चित्त बुझाउनुपर्ने बाध्यता ।

यस्तै पीडामा बाँचिरहेका परिवारको घरआँगनमा यसपटक दसैँको खुसी बाँड्न पुगेका छन्, बुटवलका समाजसेवी, युवा सामाजिक व्यक्तित्व थम्मन पुन र उनको नेतृत्वमा जुटेका युवाहरू ।

उनीहरूका हातमा थियो—चामल, दाल, नुन, तेल र मरमसला । तर, त्यो केवल खाद्यान्न थिएन, दसैँको मुखमा अभावसँग जुधिरहेका परिवारका लागि आशा र आत्मीयताको सानो उपहार पनि थियो ।

थम्मन पुनको नेतृत्वमा जुटेको युवा समूहले बुटवल उपमहानगरपालिकाका विभिन्न क्षेत्र र देवदह नगरपालिकाको चरंगे क्षेत्रका गरी ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । ६० बोरा चामलसहित करिब ३ लाख बराबरको आवश्यक खाद्यान्न सामग्री बोकेर उनीहरू विपन्न परिवारको घरदैलोमा पुगेका हुन् ।

कतिपय परिवारको अवस्था यस्तो छ कि बिहान के खाने र बेलुका के खाने भन्ने टुङ्गो हुँदैन । आफ्नै सन्तान नभएका वा एक्लै जीवन बिताइरहेका वृद्धवृद्धालाई दैनिक जीवन चलाउनसमेत कठिन छ । कतिपयले छिमेकीसँग मागेर परिवारको गुजारा चलाइरहेका छन् ।

यस्तो अवस्थामा दसैँको मुखमा कसैले घरमै आएर खाद्यान्न देला भन्ने उनीहरूले सायदै सोचेका थिए ।

तर, जब थम्मन पुनसहितका युवाहरू खाद्यान्न बोकेर उनीहरूको आँगनमा पुगे, कतिपयका आँखामा आँसु रोकिएनन् । सहयोग पाउँदा खुसीले भक्कानिएका आमाहरूका लागि त्यो क्षण केवल खाद्यान्न प्राप्तिको क्षण मात्र थिएन, दुःखमा पनि आफूहरूलाई सम्झिने कोही रहेछ भन्ने अनुभूतिको क्षण थियो ।

ती आँसुमा वर्षौँदेखिको अभाव थियो, एक्लोपन थियो र दसैँजस्तो पर्वमा पनि खुसी मनाउन नसक्नुको पीडा थियो । तर, त्यही आँसुमा कसैले आफूहरूको दुःख बुझिदिएको खुसी पनि मिसिएको थियो ।

थम्मन पुनका लागि भने यो पहिलोपटक गरिएको काम होइन । थमन पुन र उनको यो टिमले यसअघि पनि दसैँमा ५० औ यस्तै विपन्न परिवारको घरदैलोमा खाद्यान्न सहयोग लिएर पुगिसकेका छन् । पर्वलाई आफ्नै परिवारमा मात्र सीमित नराखी अभावमा बाँचिरहेका परिवारसँग खुसी साट्ने उनको प्रयास निरन्तर चलिरहेको छ ।

थमन पुन र उनको नेतृत्वमा रहेको यो टिम खाद्यान्न वितरणमा मात्रै सीमित छैन । वृद्धाश्रममा पुगेर ज्येष्ठ नागरिकलाई लत्ताकपडा सहयोग गर्ने, सरसफाइमा सघाउने र सँगै बसेर खाना खुवाउनेदेखि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नेसम्मका काममा उनको यो टिम सक्रिय रहेको छ ।

चर्को गर्मीमा सडकमा हिँड्ने यात्रुलाई चिसो सर्वत पानी वितरण गर्ने अभियान होस् वा आफ्ना टिमका युवाहरूको फजुल खर्च कटौती गरेर बुटवलको देवी नगरस्थित अस्थायी प्रहरी चौकीको रंगरोगनमा सहयोग गर्ने काम ! समाजका लागि केही गर्नुपर्छ भन्ने सोचसहित युवाहरूलाई साथमा लिएर थमन पुनअघि बढिरहेका छन् ।

यसपटक पनि थमन पुनको नेतृत्वमा सरोज दर्लामी, भरत जंग क्षेत्री, राजन रसाइली, पुष्कर कार्की, अजय रसाइली, प्रविन गुरुङ, शम्भु श्रेष्ठ, समिर गहतराज, रमेश सुनार, विक्रम मल्ल, सुजन गौचन, करन नेवार, सागर कार्की, सागर पुन, सुशील खनाल, समिर ज्ञवाली, अनुज अर्याल, समिर थापा, लगायतका युवाहरू सामाजिक अभियानमा जुटेका छन् ।

उनीहरूले बुटवलका देवी नगर, प्रगतिनगर, रानीगञ्ज, सिर्जना नगर, तिलोत्तमा टोल, चिडियाखोला, ज्योतिनगर, बुद्धनगर, मजुवा, टप मजुवा, युद्धनगरलगायतका क्षेत्र तथा देवदह नगरपालिकाको चरंगे क्षेत्रका विपन्न परिवारलाई सहयोग गरेका हुन् । खाद्यान्नसँगै केही परिवारलाई आवश्यकताअनुसार नगद सहयोगसमेत गरिएको छ ।

यी युवाहरूको प्रयासले सबै समस्या समाधान त् नहोला । उनीहरूले दिएको खाद्यान्नले कसैको जीवनभरको अभाव पनि मेटिँदैन । तर, दसैँको मुखमा केही दिन भए पनि भोकको चिन्ता कम हुनु, एक्लो महसुस गरिरहेका वृद्धवृद्धाले आत्मीयता पाउनु र विपन्न परिवारका बालबालिकाले पनि चाडपर्वको खुसी महसुस गर्न पाउनु आफैँमा जीवन भरको खुशी प्राप्त गरे सरह हुनेछ ।

समाज परिवर्तन गर्न सधैँ ठूला अभियान नै चाहिन्छ भन्ने छैन । कहिलेकाहीँ कसैको चुलो बल्ने व्यवस्था गरिदिनु, भोकै बस्नुपर्ने अवस्थाबाट कसैलाई जोगाउनु र दुःखमा परेकाको घरदैलोमा पुगेर उनीहरूको पीडा बुझिदिनु नै सबैभन्दा ठूलो सामाजिक सेवा बन्न सक्छ ।

थमन पुन र उनको नेतृत्वमा जुटेका युवाहरूले यही सन्देश दिएका छन्—चाडपर्वको खुसी सबैको घरमा पुग्नुपर्छ । किनकि, दसैँ उनीहरूको पनि हो, जसको घरमा चामल सकिएको छ, जसका लागि नयाँ लुगा सपना बनेको छ र जसको आँगनमा खुसीभन्दा बढी अभावले बास गरेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार