बुटवल। विदेश पलायन र रोजगारीका लागि भौँतारिने प्रवृत्तिबीच आफ्नै देशमा केही गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बुटवलका सात जना साथीले संयुक्त लगानीमा नयाँ व्यवसाय सुरु गरेका छन्। बाल्यकालदेखिका साथीहरू मिलेर बुटवलको व्यस्त व्यापारिक क्षेत्र अमरपथमा ‘९९ मार्ट’ सञ्चालनमा ल्याएका हुन्।

फरक–फरक क्षेत्रमा आबद्ध रहेका सात जना साथीले ‘फ्रेन्ड्स इन्टरनेसनल ट्रेड प्राइभेट लिमिटेड’ नामक कम्पनी स्थापना गरी करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा मार्ट सञ्चालनमा ल्याएका हुन्। मार्ट सञ्चालनसँगै १७ जनाले रोजगारीसमेत पाएका छन्। आपसी विश्वास, सहकार्य र स्वदेशमै केही गर्ने सोचका साथ व्यवसाय सुरु गरेका उनीहरूले उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने लक्ष्य राखेका बताएका छन् ।
९९ मार्टमा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न प्रकारका खाद्यान्न, सरसफाइका सामग्री तथा घरायसी सामानहरू उपलब्ध रहेका छन्। उपभोक्तालाई सहज रूपमा आवश्यक सामग्री खरिद गर्ने वातावरण बनाउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको बताएका छन्।

नेपालमै केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरेका सञ्चालकहरूले सामूहिक प्रयासबाट स्वदेशमै उद्यमशीलताको सम्भावना खोज्ने प्रयास गरेका छन्। बाल्यकालदेखिको मित्रतालाई व्यावसायिक सहकार्यमा रूपान्तरण गर्दै उनीहरूले नयाँ व्यवसायिक यात्रा सुरु गरेका हुन्।
९९ मार्टका सञ्चालकहरूमा मेराजुदीन मिया, आशिक हुसेन, महोमद कालिम, महम्मद फिरोज आलम, अलाउदिन अली र नारायण बेलबासे रहेका छन्। कम्पनीमा सात जना साथीको संयुक्त लगानी रहेको छ।






