बुटवल, साउन २४ – फुलबारी गाइज बुटवलको आयोजनामा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन २९, ३० र ३१ गते बुटवल–८ सुख्खानगरस्थित एड्रिक फुटसलमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा फुलबारी गाइज बुटवलका अध्यक्ष तेजु राना मगरले युवाहरूको क्षमता विकास, स्थानीय खेल प्रतिभाको पहिचान तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनले खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई अनुशासन, नेतृत्व क्षमता र सामाजिक एकताको आधारसमेत भएको बताए।
फुलबारी गाइजले यसअघि तीन संस्करणका फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ। पहिलो संस्करणमा ५० हजार रुपैयाँ पुरस्कार राशिबाट सुरु भएको प्रतियोगिता दोस्रो संस्करणमा ७५ हजार रुपैयाँ र तेस्रो संस्करणमा १ लाख रुपैयाँ पुरस्कार राशिसहित आयोजना गरिएको थियो।
खेल संयोजक सरोज दर्लामीका अनुसार अहिलेको चौथो सस्करणको विजेताले १ लाख २५ हजार रुपैयाँ तथा उपविजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा २२ टोलीको सहभागिता रहनेछ।
त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँसहित कप प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता, हाई स्कोरर लाई जनही ५ हजार रुपैयाँ नगद तथा कपबाट सम्मान गरिनेछ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले फुलबारी गाइजले खेलकुदसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, रक्तदान तथा वृक्षारोपणलगायत सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए।
पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ सल्लाहकार हसन्त लामा, लाफा समूहका अध्यक्ष बबिन थापा तथा दिनेश थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए।






