Trending
मनकामना मन्दिर परिसरमा सयभन्दा बढी बिरुवा रोपियो - – बुटवल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित मनकामना मन्दिर परिसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।



स्वतन्त्र नागरिक समूहको आयोजना तथा सिमली फाउन्डेसन नेपालको सह–आयोजनामा सम्पन्न कार्यक्रममा अम्बा, टाँकी, टिक, सलिफा, चिउरी लगायत सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ।

वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव, नेपाल सरकारका पूर्व उपसचिव, रोटरी क्लब अफ लुम्बिनीका चार्टर प्रेसिडेन्ट, सामाजिक अभियन्ता, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिमली फाउन्डेसन नेपालका कार्यकारी निर्देशक डा. शिशिर अर्यालले वृक्षारोपणले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले वातावरणीय सन्तुलन कायम राख्न, हरित क्षेत्र विस्तार गर्न तथा आगामी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण हस्तान्तरण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताए।

डा. अर्यालले सिमली फाउन्डेसन नेपालले यसअघि पनि करिब आधा दर्जन विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको जानकारी दिँदै आफूले आर्जन गर्ने आम्दानीको १५ प्रतिशत सामाजिक सेवामूलक कार्यमा खर्च गर्दै आएको उल्लेख गरे। शिक्षा, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा फाउन्डेसनले निरन्तर काम गर्दै आएको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जन्मदिन, विवाह वर्षगाँठ तथा अन्य विशेष अवसरहरूमा कम्तीमा एउटा बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए। उनले वृक्षारोपण मात्र गरेर दायित्व पूरा नहुने उल्लेख गर्दै रोपिएका बिरुवाको नियमित संरक्षण, स्याहार–सम्भार र हुर्काउने जिम्मेवारीमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए। आयोजकका अनुसार वृक्षारोपण अभियानले स्थानीय क्षेत्रमा हरियाली वृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम राख्न दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार