बुटवल । बुटवल उपमहानगरपालिकाले रोजगार मेलाको आयोजना गर्ने भएको छ । रोजगार तथा सीप विकासका अवसरहरू प्रदान गर्न भोली बुधबार “बुटवल रोजगार मेला २०८२” आयोजना गरिएको उपमहानगरले जनाएको छ । बुटवल-११ कालिकाननगरस्थित दियालो फुडल्यान्डमा आयेजना गरिने मेलामा करिब ४० वटा रोजगारदाता कम्पनी सहभागी हुने उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए ।

मेलामा सहभागी हुने रोजगार प्रदायक संस्थाहरुका आधारमा करिब ७ सय जना विभिन्न सीप प्राप्त दक्ष, अर्धदक्ष तथा अदक्ष जनशक्तिको माग भएको जनाउँदै उनले बेरोजगार युवाहरुका लागि ठूलो अवसरका रुपमा मेला रहेको उनले बताए ।
बिहान १० बजेदेखि सांझ ५ बजेसम्म मेला सञ्चालन हुने जानकारी गराउँदै उनले रोजगारीको खोजिमा रहेका बेरोजगारलाई रोजगार बनाउन तथा कामदारको आवश्यकता रहेका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानहरूलाई कामदारको आवश्यकता पुर्ति गराउन मद्दत गर्ने उद्वेश्यले रोजगार मेला आयोजना गरिएको बताए ।
पालिकामा रोजगारीका अवसरहरु सिर्जना गरी आर्थिक समृद्धिलाई बढावा दिनका लागि विगत वर्षदेखि बुटवलमा रोजगार मेला आयोजना गरिएको प्रवक्ता रानाले बताए ।
बुटवल उपमहानगरपालिकाले लिएको लक्ष्य प्राप्त गर्न मानवीय विकासले महत्वपूर्ण भूमिका खेल्ने भएकाले रोजगार मेलाका साथै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरिएको प्रवक्ता रानाले बताए । रोजगार मेलाले विभिन्न क्षेत्रका रोजगारदाता, आवश्यक जनशक्तिका बारेमा अभिलेखिकरण हुने, सीप र परामर्श समेतको अवसरबाट युवा बेरोजगारीलाई कम गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले बताए ।
यसअघि गत वर्ष आयोजना गरिएको बुटवल रोजगार मेला मार्फत ३८ जना युवाले रोजगारी प्राप्त गर्न सफल भएको र यस वर्ष सयौंको संख्यामा रोजगारी प्राप्त गर्ने विश्वास लिइएको नगर प्रवक्ता रानाले बताए ।






