बुटवल, २२ साउन – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेशले श्रमप्रति सम्मानको भावना विकास गर्दै श्रम संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ श्रम अभियानलाई लुम्बिनी प्रदेशका सबै जिल्लामा विस्तार गर्ने घोषणा गरेको छ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले स्थानीय तहदेखि समुदायस्तरसम्म नागरिकको सक्रिय सहभागितामा श्रम अभियान सञ्चालन गरिने जनाएको हो। अभियानमार्फत श्रमको सम्मान, सामूहिक सहभागिता र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखिने पार्टीको भनाइ छ।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश अध्यक्ष तुलबिर दर्लामीले श्रम संस्कृतिलाई समाजको आधारभूत मूल्यका रूपमा स्थापित गर्न प्रदेशभर अभियान विस्तार गरिने बताए। उनले अभियानमा आम नागरिकलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै श्रममार्फत समाज परिवर्तन सम्भव रहेको धारणा व्यक्त गरे।
दर्लामीले श्रम अभियन्ता हर्क साम्पाङको नाम र सालिकसहित ‘हर्क साम्पाङ श्रम पार्क’ निर्माण गर्ने योजना अघि सारिएको जानकारी दिए। साथै, श्रमसँग सम्बन्धित संग्रहालय तथा वृद्धाश्रम स्थापना गर्ने योजना पनि पार्टीले अघि बढाएको उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रवक्ता गोबिन्द गिरिले वर्तमान सरकारले अघिल्ला सरकारहरूको तुलनामा केही सकारात्मक कामको सुरुवात गरेको उल्लेख गर्दै जनताको अपेक्षा पूरा गर्न अझ धेरै काम गर्न आवश्यक रहेको बताए।
यस्तै, संगठन विभाग प्रमुख नगेन्द्रराज श्रीनेतले श्रम संस्कृतिको विकासले समाजमा आत्मनिर्भरता, अनुशासन, सहकार्य र सकारात्मक परिवर्तनको वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।
लुम्बिनी प्रदेश सचिव केबी रानाले पार्टीको संगठन विस्तारसँगै श्रम अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिने र प्रदेशका विभिन्न जिल्लामा जनसहभागितामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।






