बुटवल। गुल्मीका चर्चित युटुबर तथा पत्रकार मोहन बस्नेतले विवाहमा गरिने फजुल खर्चलाई कटाएर गाउँमै चार विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । पत्रकार मोहन बस्नेतको गत मंगसिर १३ गते सरु आचार्य संग बिवाहा भएको थियो ।

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नवीन तिरुवा, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर शम्भु खनाल, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मीद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।
जसबाट चार सय जनाले ओपिडी सेवा लिएका छन् । ४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, एक सय आठजनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाब जाँच र ६५ जना विद्यार्थीको रक्त समूह परीक्षण गरिए थियो भने शिविर बाट स्थानीयले अन्य धेरै स्वास्थ्य लाभ लिने अवसर पाएका छन् । आफ्नै घरदैलोमा आएर निःशुल्क रुपमा बिशेषज्ञ डाक्टर सहितको सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीयले बताएका छन्।
विवाह र भोज भतेरमा लाखौँ रकम खर्च गरेर तडक भाडाक गर्ने, बाहिर देखाउनेका लागि अनावाश्यक अत्यधिक खर्च गर्ने प्रचलन बढ्दै गए पनि यस विपरीत मोहन बस्नेत र सरु आचार्यले केही भएपनि सेवा गर्नुपर्छ भनेर सामाजिक कार्यमा लगाउने उद्देश्यले गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेको बताएका छन् ।






