बुटवल,२७ पुस । पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीकाे अवसरमा बुटवलमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं १० पृथ्वी पथमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय शक्ति नेपालका केन्द्रीय कार्य सम्पादन समिति सदस्य रूपसिं थापाले अनावरण गरेका हुन् ।

साे अवसरमा बाेल्दै शालिक निर्माण समितिका अध्यक्ष समेत रहेका थापाले पृथ्वीनारायण शाहको नेपाल एकिकरणकै कारण नेपाल देशको रूपमा स्थापित भएको बताए ।
बाइसे र चाैबिसे राज्यमा बिभाजित रहेकाे मुलुकलाई पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए त्तज नेपाल रहन्थ्याे कि रहन्थेन भन्दै उनलेे राष्ट्रलाई योगदान गर्ने बिभुतिहरूकाे सम्मानका लागि उनिहरूकाे शालिक राख्न जरुरी रहेको बताए ।
पृथ्वीनारायण शाह शालिक निर्माण समितिका उपाध्यक्ष निलम अधिकारीले गत बर्ष आजकै दिन शिलान्यास गरिएको पृथ्वीनारायण शाहकाे शालिक पृथ्वी जयन्तीको अवसरमा आज अनावरण गरिएको भन्दै शालिक अनावरणकै लागि आफू न्युजिल्यान्डबाट नेपाल आएको बताए ।
शालिक निर्माण समितिका उपाध्यक्ष अधिकारीकाे अध्यक्षता निर्माण समिति अध्यक्ष तथा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्व नगर प्रमुख पुनाराम पाेखरेल,कालिका मानवज्ञान माविका शिक्षक युवराज कंडेल,शालिक निर्माण समितिका सचिव कमला शर्मा ढकाल, राष्ट्रिय शक्ति नेपालका अभियन्ता चक्रपाणी खनाललगायतले राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको याेगदानबारे चर्चा गरेका थिए । साे अवसरमा शालिक निर्माणकर्ता राजु तुलाधर तथा चन्दादातालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
बुटवल उपमहानगरपालिका,१० नम्बर वडा कार्यालयकाे केही र स्थानीय चन्दादाताकाे करिब १७ लाखको लागतमा शालिक निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रममा राप्रपा,राप्रपा नेपाल,राष्ट्रिय शक्ति नेपाल लगायत पार्टीका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियो ।
वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीकाे कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यकामा विजय हासिल गरे । उपत्यकामा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । उनका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।
पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।











