बुटवल,२५ पुस । बुटवलकाे ट्राफिक चाेकसहित मुख्य तीन चाेकमा ट्राफिक लाइटकाे उदघाटन भएको छ । ट्राफिक चाेकसहित मिलन चाेक र कालिकानगरमा जडान गरिएको ट्राफिक लाइटकाे बिहीबार अपरान्ह बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलकाे ट्राफिक ब्यवस्थापनका लागि हाल ट्राफिक चाेकसहित मुख्य तिन चाेकमा ट्राफिक लाइट जडान गरिएको भन्दै आगामी दिनमा गाेलपार्क,हस्पिटल लाइन,राजमार्ग चाैराह,याेगिकुटीलगायतका ठाउँमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जानकारी गराए ।
उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चाेक,मिलन चाेक र ट्राफिक चाेकमा ट्राफिक लाइट जडान गरिएकाे उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्दै जाने बताए ।
सडक सुरक्षालाई मध्येनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चाैपायाकाे ब्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउदै उनलेे दाेस्राे चरणमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गरे ।
बुटवललाई सफा,स्व्च्छ,हरियाली,उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चाेकमा २३ वटा हाईमास्ड लाइट तथा १२५ सिसिटिभि क्यामेरा जडान गरिएको भन्दै उनलेे राजमार्ग चाैराह-गाेलपार्क-चिडिियाखाेला-चिडिियाखाेला सडक बिस्तार कार्य सकिएपछि बुटवलको मुहार फेरिने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटकाे महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।
बुटवलको कालिका चाेक,मिलनचाेक लगायतका ठाउँमा धेरै दुर्घटनाहरू हुने गरेको भन्दै उनलेे ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमि आउने विश्वास ब्यक्त गरे ।
उपमहानगरपालिकाकाे बार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाकाे लागतमा कालिका चाेकसँगै मिलनचाेक र ट्राफिक चाेकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पाेखरेलले बताए ।
साे अवसरमा ट्राफिक लाइट जडानकाे ठेक्का लिएको क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौका प्राविधिक बिवेक दर्शन श्रेष्ठले ट्राफिक लाइटकाे प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।






