बुटवल, जेठ २४ । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा रोट्रयाक्ट युथ आइकन–२०८३ अन्तर्गत आइतबार बिहान ‘मर्निङ वाक विथ मेयर’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, फिजिसियन डा. हरि पन्थी, प्रमुख प्रशिक्षक रमेश अर्याल लगायतको सहभागितामा नयाँ बसपार्कदेखि हिलपार्कसम्म मर्निङ वाक गरीएको हो ।

युवा पुस्तालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरीएको क्लबका अध्यक्ष आविष्कार खनालले जानकारी दिए । मर्निङ वाकको क्रममा आइकनका सहभागीहरूले नगरप्रमुख तथा चिकित्सकसँग आफ्ना जिज्ञासा, विचार र प्रश्नहरू राख्ने अवसर पाएका थिए ।
नगरप्रमुख पाण्डेयले हिलपार्क मर्निङ वाकका लागि उपयुक्त स्थान रहेको उल्लेख गर्दै बुटवलमा हिलपार्कसँगै लक्ष्मीनगर, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस नजिकको ग्राउन्ड, बेलबासको सामुदायिक भवन लगायत १३ स्थानमा मर्निङ वाक तथा योगा सेन्टर सञ्चालनमा रहेको बताए । यसले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
उनले पछिल्लो समय बुटवल उपमहानगर क्षेत्रमा क्यान्सर, मृगौला फेल लगायतका नसर्ने रोगबाट पीडित बिरामी उपचारका लागि सिफारिस लिन दैनिक झण्डै ५ जनासम्म आउने गरेको उल्लेख गर्दै उनले यस्ता रोग लाग्नुभन्दा पहिले नै सचेत रहन आवश्यक रहेको बताए । ‘बिहान १ घण्टाको अभ्यासले स्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छ । अस्पतालबाट नियमित औषधि खाने की बिहान उठेर केही समय हिँडेर स्वस्थ जीवनशैली अपनाउने भन्ने कुरा तपाईंहरूको आफ्नै निर्णय हो ।,’ उनले भने ।
कार्यक्रममा फिजिसियन डा.हरि पन्थीले मर्निङ वाक सबै उमेर समूहका लागि उपयुक्त व्यायाम भएको उल्लेख गर्दै नियमित शारीरिक गतिविधिले नसर्ने रोगहरूको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनका अनुसार नेपालमा पहिले सरुवा रोगहरू झाडापखाला, ज्वरो र मलेरियाबाट मृत्यु हुने अवस्था थियो भने हाल नसर्ने रोगका कारण मृत्यु दर बढ्दै गएको छ । ‘दैनिक कम्तीमा ३० मिनेट वा हप्तामा १५० मिनेट मुटुको धड्कन बढ्ने गरी हिँड्दा मस्तिष्कघात र हृदयाघातको जोखिम १० देखि १५ प्रतिशतसम्म घटाउन सकिन्छ । साथै सुगर र उच्च रक्तचापका बिरामीलाई पनि यसले ठूलो फाइदा पु¥याउँछ ।,’ उनले भने । बिहानको स्वच्छ वातावरणमा गरिएको मर्निङ वाकले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक रमेश अर्यालले पनि नियमित व्यायामलाई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिँदै स्वस्थ जीवनका लागि मर्निङ वाक प्रभावकारी अभ्यास भएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बन्जाडे, पूर्व अध्यक्ष जीवनप्रसाद अधिकारी, बालकृष्ण पाण्डे लगायत क्लबका बोर्ड अफ डाइरेक्टर्स तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
रोट्रयाक्ट युथ आइकन–२०८३ अन्तर्गत पहिलो चरणको अडिसनबाट २० प्रतियोगीहरू छनोट गरिएका थिए, जसमध्ये अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट ५ जना प्रतियोगीहरू छनोट हुनेछन् ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी जेठ ३० गते आयोजना गरिनेछ । विजेताले रु २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट हुने प्रतियोगीहरूलाई समेत पुरस्कृत गरिने क्लबका सचिव केशव पौडेलले जानकारी दिए । उक्त कार्यक्रम पश्चात दिनभर प्रशिक्षण सत्र पनि सञ्चालन गरिएको थियो । दिप बोर्डिङ स्कुलमा सञ्चालित उक्त सत्रमा राजेन्द्र लम्साल, रमेश अर्याल लगायतले प्रतिस्पर्धी हरुलाइ बिभिन्न बिधामा प्रशिक्षण प्रदान गरेका थिए ।






