बुटवल । बुटवल उपमहानगरपालिका–१३, बदेलपोखरीस्थित जितेश्वरी माध्यमिक विद्यालयमा लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीले निर्माण गरेको खानेपानीको धारा विद्यालयलाई हस्तान्तरण गरिएको छ। संस्थापक अध्यक्ष भेषराज पोखरेलका स्वर्गीय बुवा नुमराज पोखरेलको स्मृतिमा करिब पौने २ लाखको लागतमा निर्माण गरिएको उक्त धारा शुक्रबार निर्माणकार्य सम्पन्न गरि विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

स्वर्गीय बुवाको काजक्रियाका क्रममा पानीको अभावका कारण भोग्नुपरेको कठिनाइबाट प्रेरित भएर समाजका अन्य व्यक्तिले त्यस्तो समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको संस्थापक अध्यक्ष भेषराज पोखरेलले बताएका छन् । त्यो संगै उनले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वच्छ पिउने पानीको सहज पहुँच उपलब्ध गराउने उद्देश्यले पनि यो सामाजिक कार्य अघि बढाइएको बताएका छन्।
लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका जिल्ला अध्यक्ष श्रीधर बस्यालका अनुसार केही महिनाअघि जितेश्वरी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रमका लागि पुग्दा विद्यार्थीहरूले भोगिरहेको खानेपानी समस्याबारे जानकारी प्राप्त भएको थियो। त्यसपछि संस्थापक अध्यक्ष भेषराज पोखरेलको परिकल्पना तथा क्लबका सबै टिमको सक्रियतामा विद्यालयमा स्वच्छ खानेपानीको सुविधा विस्तार गर्ने योजना अघि बढाइएको उनले बताएका छन्।

खानेपानी धारा निर्माण समितिका संयोजक आत्माराम भण्डारी ‘गोकुल’ले विद्यालयमा स्वच्छ खानेपानीको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले धारा निर्माण गरिएको बताउँदै यसले विद्यार्थीहरूको दैनिक जीवनलाई थप सहज बनाउने विश्वास व्यक्त गरे।
सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा समुदायप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै सम्पन्न गरिएको यस कार्यले विद्यालयका विद्यार्थी तथा स्थानीय समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गर्दै क्लबका अध्यक्ष लियो अशोक कुमार श्रेष्ठले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवालीले लियो क्लबले आफ्नो विद्यालयलाई छनोट गरी सामाजिक उत्तरदायित्वअन्तर्गत महत्वपूर्ण योजना सञ्चालन गरेकोमा आभार व्यक्त गरे। उनले यस कार्यबाट विद्यार्थी, शिक्षक तथा विद्यालय परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्दै यस्ता सहयोगले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने बताए।
कार्यक्रममा समाजसेवी कमल सापकोटा तथा सरु थापाले क्लबप्रति आभार व्यक्त गर्दै यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए। कार्यक्रमको सञ्चालन क्लबका मेम्बरसिप चेयरपर्सन लियो कविराज भुसालले गर्नुभएको थियो।






